काठमाडौं / देशमा १० वर्षसम्म चलेको जनयुद्धको स्मृतिमा गत सोमबार राष्ट्रिय स्तरमा बिदा दिइयो । तर, त्यही युद्धलाई अघि बढाएको माओवादीका नेताहरु भने फरक फरक दलमा टुक्रिएर फरक फरक तरिकाले नै जनयुद्ध दिवस मनाइरहेका थिए । अहिले माओवादीको एउटा पक्ष सरकारको नेतृत्व गरिरहेको छ, तर माओवादीकै अरु पक्ष भने टुक्रा टुक्रा भएर जनयुद्धका एजेन्डा अझै पनि पूरा नभएको र जनताको अपेक्षा अनुसार परिवर्तन हुन नसकेको भन्दै विभिन्न माध्यमबाट संघर्षरत छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जनयुद्ध दिवसलाई राष्ट्रिय स्तरमा बिदा दिई दिवसको रुपमा मनाउने निर्णय गरेको हो । २०५२ सालमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ४० बुँदे माग राख्दै सुरु भएको जनयुद्ध केही समयमा नै देशभर ‘आगोको फिलिंगो’ झैं फैलिएको थियो । सामान्य हातहतियारसमेत नभएको माओवादी केही वर्षमा नै राज्यको आधुनिक हातहतियारले सुसज्जित सुरक्षा निकायलाई चुनौती दिने शक्ति भएको थियो । जनताको भरासो जित्दै अघि बढेको माओवादीले अन्य दलसँगको सहकार्यमा देशमा लोकतन्त्र र गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका पनि निर्वाह ग¥यो ।
शान्ति प्रक्रियाबाट संसदीय अभ्यासमा आएको माओवादीलाई तत्कालीन चुनावमा जनताले ठूलो मतभारसहित जिम्मेवारी पनि दिए । संसदको विकृत खेलको निन्दा गर्दै माओवादी त्यही खेलमा कच्चा साबित भयो । पार्टीका नेताहरु विभिन्न स्वार्थ समूहसँग जोडिँदा समग्र जनयुद्धको एजेन्डा नै छायामा प¥यो । त्यति मात्र नभई पार्टीमा प्रचण्डका बलिया सारथीहरु मोहन वैद्य, रामबहादुर थापा बादल, युवा नेता नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतले उनको साथ छोडे । कारण थियो, माओवादीले जनयुद्धको एजेन्डा बिर्सिनु र सत्ता तथा शक्तिको रापतापमा मस्त हुनु ।
देशभर जनयुद्ध दिवस मनाइरहँदा फेरि यसको एजेन्डा र उपलब्धिको लेखाजोखा गर्नुपर्ने बेला आएको विश्लेषकहरुले जनाउँदै आएका छन् । कुनै समय जनताको आशा भरोसाको केन्द्र भएको माओवादीले सर्वहारा वर्गको जीविका, राष्ट्रियताको मुद्दामा उठाएको सवालहरुमा अहिलेसम्म के कति काम हुन सक्यो रु यसको हिसाबकिताब हुनुपर्ने बेला आएको छ । तत्कालीन माओवादीकै एक पक्ष नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले जनयुद्धका एजेन्डा अझै पूरा नभइसकेको भन्नु र प्रचण्ड नेतृत्वको पार्टीप्रति निरन्तर जनमत खस्किनुले पनि यसको पुष्टि गर्छ ।
महासचिव विप्लव सीले पनि जनयुद्धले सामन्तवादबाट मुक्त गरेको तर नयाँ जनवाद हुँदै समाजवादमा अगाडि बढ्ने क्रममा भूमण्डलीकृत पुँजीवाद, दलाल पुँजीवाद र संशोधनवादको षड्यन्त्रका कारण त्यो लक्ष्य हासिल हुन नसकेको जनाएका छन् । विप्लव नेकपाले भनेजस्तै जनयुद्धका एजेन्डामा छाया परेको त छँदै छ, युद्धको दौरान सहित भएका, घाइते तथा बेपत्ता भएकाहरुको परिवारलाई उचित राहत दिन सरकार चुक्दै आएको विश्लेषकहरुको भनाइ छ । जनयुद्धमा लागेर शान्ति प्रक्रियामा आइसक्दा थुप्रै लडाकुहरु रोजगारविहीन भई अहिले खाडी मुलुकमा पसिना बगाउन बाध्य हुनुले पनि जनयुद्धको उपलब्धिबारे समीक्षा गर्नुपर्ने विश्लेषकहरु जनाउँछन् ।
जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीले एक विज्ञप्ति निकाल्दै नेपाललाई दलाल पूँजीवादी सत्ता र भूमण्डलीकृत साम्राज्यवादको प्रभूत्व र उत्पीडनबाट मुक्त गराईछोड्ने अठोट गर्दै पूँजीवादीहरुले जति नै षड्यन्त्र गरे पनि विजय जनताको नै हुने जनाएको छ । महासचिव विप्लवले नेपालले अहिले सामना गरिरहेको आर्थिक, राजनीतिक संकटको उचित निकास दिन देशका सम्पूर्ण वामपन्थी, कम्युनिस्ट, देशभक्त र लोकतान्त्रिक शक्तिहरु एक हुनुपर्ने जनाएका छन् । ‘जनयुद्धले हामीलाई सामन्तवादबाट मुक्त गर्यो, किसान, मजदुर, महिला, श्रमिक समुदाय, जनजाति, मधेसी, आर्य, मुस्लिम, सबैलाई एकताबद्ध गरेर विद्रोहमा परिचालित ग¥यो र एक स्तरको मुक्ति दिलायो । हामी नेपालमा नयाँ जनवादी सत्ता स्थापना गरेर वैज्ञानिक समाजवादमा अगाडि बढ्न चाहन्थ्यौँ तर भूमण्डलीकृत पुँजीवाद, दलाल पुँजीवाद र संशोधनवादका षड्यन्त्रका कारण हाम्रो त्यो लक्ष्य पूरा हुन पाएन,’ विज्ञप्तिमा उल्लेख छ ।
पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तुमा जनयुद्ध दिवस मनाइरहँदा महासचिव विप्लवले जनयुद्ध दिवस राष्ट्रिय पर्व भएको जनाए । ‘नेपालका सबै किसान, मजदुर, महिला, मधेशी, मुस्लिम आदीवासी, जानजाती लगायत सबैको मुक्तीको लागि भएको जनयुद्ध दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्छ,’ उनले भने । उनले प्रचण्ड, माधव कुमार नेपाल, केपी शर्मा ओलीसँग छलफल गरिरहेको र सबै कम्युनिष्ट मिलेर जनक्रान्तिको बाटोमा अघि बढाउनेसमेत जनाए । जनधारणा साप्ताहिकबाट


