काठमाडौं । अहिले पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रिका लागि पशुपतिनाथ मन्दिर बेहुली झै तीव्र सजाउन थालिएकाे थियाे ।
मन्दिर प्रवेश गर्नेद्वार सजाउने कार्य जारी रहेको छ भने धमाधम रङरोगन भइरहेको छ। वरपरका क्षेत्रमा सरसफाइसमेत चलिरहेको छ। यो वर्ष फागुन ६ गते परेको महाशिवरात्रि पर्वका लागि छिमेकी देश भारत र श्रीलंका लगायत देशबाट साधुसन्तसमेत नेपाल आउने क्रम जारी छ। यसरी आउने साधुसन्तलाई दान दक्षिणसहित बिदा गर्ने चलन छ।
फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरूमा भक्तजनको घुइँचो लाग्छ। यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । महाशिवरात्रिकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेला लाग्छ। मेलामा किनमेलका लागि विशेष बजारका अतिरिक्त बालबालिकाका लागि विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलसमेत हुन्छ।