काठमाडौं । याेमरि पुर्णिमा ज्यापुदिवसकाे अवसरमा काठमाडाैं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संस्कृतिको जगेर्ना गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने जनाएकी छन्।
आइतबार बसन्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले देशलाई आर्थिक रूपमा सम्पन्न बनाउन र देशको संस्कृतिको जगेर्ना गर्न जुटेर अघि बढ्नुपर्ने जनाएकी हुन्।
‘हामीले देशलाई आर्थिक रूपमा अघि बढाउन र देशको संस्कृतिको जगेर्ना गरिरहने हो भने फुटेर होइन, जुटेर अघि बढ्नुपर्छ। सबैजना एकजुट भएर लाग्नुपर्छ।
ज्यापु समुदायका विभिन्न संस्कृतिमात्र नभएर नेवारसमुदायभित्र रहेका पनि विभिन्न जातजातिका पर्वहरूको उत्तिकै महत्वपूर्ण भूमिका छ,’ उनले भनिन्। उनले सबै एकजुट भएर मान्ने र देशभरका विभिन्न जातजातिका पर्वहरूलाई पनि उत्तिकै महत्व दिनुपर्ने जनाइन्।
सांस्कृतिक महत्व बोकेका पर्व, जात्रा सँगसँगै भाषा र लिपीलाई पनि जीवित राख्नु पर्ने उनको भनाइ छ। उपप्रमुख डंगोलले नेपालका संस्कृतिहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्दै लैजानुपर्नेमा जोड दिइन्।


