काठमाडौँ / पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मुलुकको लोकतन्त्र दोबाटोमा नभई घुम्तीमा रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा गरेको कान्तिपुर कन्क्लेभ–२०२४ अन्तर्गत ‘दोबाटोमा लोकतन्त्र’ विषयक सत्रमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् ।
लोकतन्त्र निरन्तर विकसित हुने भन्दै उनले अहिले घुम्तीमा पुगेको बताए। ‘लोकतन्त्र घुम्तीमा छ, घुम्तीमा कहिले उकालो कहिले ओरालो आउँछ,’ उनले भने, ‘विश्वव्यापी रुपमा लोकतन्त्र अहिले ओरालोमा छ । यसलाई उकालोमा लैजाने मान्यता म राख्छु, त्यसैले दोबाटोमा छैन ।’ भूराजनीतिक र संरचनालगायत विभिन्न कारणले नेपाल सबैभन्दा पछाडि परेको लोकतन्त्रको अभ्यास गरिरहेको समेत उनले दाबी गरे। ‘प्रारम्भिक युगको लोकतन्त्रमा पञ्चायत थियो, करिब २ हजार वर्ष राजतन्त्रका निरंकुश शासनमा रह्यो, त्यसबेला लोकतन्त्रको सम्भव थिएन,’ उनले भने, ‘ लोकतन्त्र सुरु भएको २ सय वर्षयता हो, नेपाल सबैभन्दा पछाडि लोकतन्त्रमा गएको हो ।’ २००७ सालपछि जनयुद्ध, जनआन्दोलन हुँदै ०७२ सालमा संविधान आएपछि औपचारिक ढंगले नेपालमा लोकतन्त्रलाई पूर्णता दिएको समेत उनले बताए ।
लोकतन्त्र अभ्यासका क्रममा रहेको भन्दै उनले निरन्तर विकसित हुँदै जाने बताए ।