अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावर आज स्वदेश फर्किदै छिन् । नेपालको दुई दिने भ्रमणका लागि काठमाडौं आएकी उनी आज बुधबार फर्किन लागेकी हुन् ।
अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै सामन्था नेपाल भ्रमणमा आएकी थिइन् । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहेकी उनी अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् ।
नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्र मन्त्री डा. विमला राई पौडेललाई भेट गरेकि छन् ।
नेपालले प्रतिनिधिसभा बैठकबाट अमेरिकी सहयोग एमसीसी पारित गरेपछि त्यसको कार्यान्वयनमा अमेरिकी सरकारले चासो लिदैआएको छ । भेटका क्रममा अमेरिका नेपालको विकास साझेदार भएकाले विभिन्न सहयोग उपलब्ध गराउनबारेमा समेत छलफल भएको थियो । सो अवसरमा सामन्थाले सहयोगको घोषणा पनि गरेकि छन् । एमसीसी कार्यान्वयनमा उनले चासो व्यक्त गरेकि छन् ।


