-खडग पाण्डे
प्राचिन कालमा जंगलको बिचमा एउटा परिवार बस्दथ्यो- आमा, छोरा र बुहारी। एक दिन छोरा जंगलमा घुम्दै जादा ऐनाको टुक्रा भेट्याएछ। ऐनामा हेर्दा आफ्नो अनुहार देख्छ। लौ यो त मेरा बा को अनुहार हो भनेर आफ्नो छाप्रोमा ल्याएछ। बारम्वार ऐना हेर्दै आफ्नो बालाई संझदो रहेछ। लोग्नेले हेरेको ऐना उनको श्रीमतीले पनि हेरिछन। । ऐनामा आफ्नो अनुहार देखेर लौ यो को महिला हो? ऐनामा देखिएको महिलाको अनुहार आफ्नो हो भन्ने ज्ञान भएन। त्यो ऐना सासुलाई दिईछन। सासुले ऐना हेरिन र भनिछन- न आत्तीई बुहारी, त्यो महिला बुढिभैसकेकी छ, छिट्टै मर्छे।
बिज्ञान र प्रविधिको बिकास, अन्तर-देशिय बसाइँ सराईले गर्दा पुस्ता अन्तर (generation gap) ले माथि उल्लेखित प्रसङ्ग फरक स्वरुपमा अहिले पनि देख्न र अनुभुती गर्न पाईन्छ। पुस्ता अन्तरले फरक भावना, चाहना, अपेक्षा, मनोविज्ञान, आवश्यकता आदिले व्यक्ति, परिवार र समाजलाई कस्तो प्रभाव पारेको छ ? फरक भौगोलिक बातावरण, सभ्यता, संस्कृति, मूल्य-मान्यता र संस्कारमा जन्मे हुर्केका र हाम्रो समाजमा जन्मि हुर्की बुढेसकाल पुगेका पुस्ता (अन्तरे पुस्ता) बारेमा- थोरै चर्चा गरौ। पुस्ता अन्तरले सृजना गरेका केही अनुभव र अनुभुतीहरु राख्ने अनुमती चाहन्छु।
मेरा एक जना छिमेकी छन- हरीदत्त उपाध्याय। पेशाले उनी पुरेत हुन। धर्म, संस्कृति, परम्पराका कट्टर पक्षपाती र संरक्षक। धार्मिक अर्ती उपदेश दिने, परम्परा जोगाउने अभियन्तानै भन्दा हुन्छ।। उनका दुई भाई छोरा छन। जेठा धर्मदत्त र कान्छो रामदत्त उपाध्याय। जेठा छोरा छुट्टीएर बसेका छन। छुट्टीनुको कारण थियो- भाई रामदत्तलाई स्कुलमा पढन पठाएँ तर आफुलाई ज्योतिषी सिकाउने नाममा जोतिषिको घरमा गोठालो बन्न पठाएँ। धर्मदत्त खेती किसानी संगै बाउको पुरेती काममा सहयोगीको काम गर्दछन । कान्छो छोरा रामदत्त अस्ट्रेलियामा पढन गएको उतै बस्दछन। सात बर्ष पछी बिदामा घर आउँदै छन- श्रीमती र छोरी साथैमा लिएर। रामदत्तले ६ बर्ष अगाडि नै विवाह गरेका थिए उतै अस्ट्रेलियामा। अहिले उनीहरुको ५ बर्ष कि एउटी छोरी छिन – शार्लोट । छोराको विवाह भएको थाहा पाएर हरीदत्तले केटीको माईती, मावली, जात, थर, गोत्र, कुल -घरान सबै सोधेका थिए। रामदत्तले पनि बाको मन राख्न सबै मिलाएर भनेको थियो। अर्थात नुकाकोटका उच्च कुलकी, आचार्य बाहुन कि छोरी, भारद्दाज गोत्रकी आदि ईत्यादि।
छोरा बुहारी अझ नातिनी पनि लिएर आउने खवरले हरीदत्त र उनकी बुढी चन्द्रकली फुरुङ्ग थिए। अब कान्छि बुहारी आए पछि त घर भित्रको घर धन्दाबाट केही समयको लागि छुटकरा पाईने भयो। आफु त नातिनी संग धित मर्ने गरी खेल्छु। गाँउ घरको काम सिकाउछु जस्ता कल्पना गर्नै थिईन चन्द्रकली बजै। तोकिएको दिनमै रामदत्त टुप्लुप्प घरमा आई पुगे। साथमा एउटी विदेशी महिला र साथमा विदेशी सानी केटी। संयोगले म त्यही पुगेको थियाे । छोराको संगै विदेशी देखेर हरीदत्त र चन्द्रकली मुखामुख गरे। खै त बुहारी र नातिनी? बुढाले फ्याट्ट सोधे। रामदत्तले आँखाको ईशाराले श्रीमती र छोरीलाई देखाए। बुढाबुढी ट्वा परे। त्यही बेला रामदत्तका दाई धर्मदत्त आए र भने ए कान्छो त आई पुगेछ। आफ्नो दाई आगनको छेउमा आई पुग्दै गर्दा श्रीमती एलिजावेथलाई भने- “हि ईज माई ईल्डर ब्रोदर”। एलिजावेथले धर्मदत्तलाई झ्यम्मै अगालो (हग) हालिन र गालामा म्वाई खाए जस्तो गरिन। बिचरा धर्मदत्तका खुट्टा कापे र चिट पसिना निकाले। लौ न नि यो के गरेको? आफ्नो जेठाजुलाई छुन त के टाउको रौ सम्म देखाउन हुन्न। चन्द्रकली आत्तिएर भनिन। एलिजावेथलाई लाग्यो मैले कुनै मिस बिह्यावियर त गरिन? सायद हक गर्नु हुँदैन्थ्यो कि? उनी हरीदत्त (ससुरा) छेउ पुगिन र हात मिलाउन आफ्नो हात पसारिन। बुहारीको यो चाला देखि हरीदत्तलाई के गरौ कसो गरौ भयो र फुत्त घर भित्र पसे। रामदत्तले चन्द्रकलीलाई देखाउदै – “सी इज माई मम्मी” भने। एलिजावेथ आफु तिर आउँदै गर्दा चन्द्रकलिले आफ्नो खुट्टा मिलाईन। बुहारीको ढोग लिन। एलिजावेथले आमाको पिट्युमा प्याट्ट हानेर “हाई मम्मी” भनिन।
बिचरा चन्द्रकली आफ्नो कान्छि बुहारीको बारेमा के सोचेकि के पाईन। बुढीको ध्यान अब नातिनी प्रती गयो। आफ्नै छोराकी छोरी काखमा लिने मनसायले शार्लोट तिर बढीन। बुढीले उनलाई छुन मात्र लागेकी थिईन, शार्लोट “डण्ट टच मि” भनेर आफ्नो मम्मीतिर दगुरिन । उनले भनिन “द्याट ओल्ड उमन ट्राई टु टच मि। ह्वाट अ ननसेन्स उमन। बम्पि रोड, डर्टी पिपुल”। बुढीले केही बुझिनन। सायद नयाँ ठाउँ र नचिनेका मान्छे देखेर डराई होला।
दोस्रो घटना नेपाल बाहिरको थियो। यात्राको सिलशिलामा म फ्रान्स जादा साथी गौरवको घरमा ३ दिन बिताए। हामी मिल्ने साथी थियौ। उ फ्रान्स जानु पहिले नेपाल हामी बर्षौ सम्म एउटै संस्थामा संगै काम गरेका। धन्नै २० बर्ष अगाडि फ्रान्स पुगेको मेरो साथी त्यहा राम्रै स्थापित भएर बसेको रहेछ। साथीका दुई छोरी र एउटा छोरा थिय। कान्छो बाहेक एतै नेपालमै जन्मे हुर्केका। पढन अब्बल र ज्यादै व्यबहारिक। अहिले जेठी छोरी र जेठो छोरा अलग्गै बस्दा रहेछन। संयोगले म साथीको घरमा हुँदै जेठि छोरी आईन। नेपालमा हुँदा उनको नाम कल्पना थियो, अहिले कृस्ट्रिना भएछ। छोरीले ढोकैबाट “हाई ड्याड, हाई ममी” भनिन। भित्र पसे पछी छोरीसंग मेरो परिचय गराए। छोरीले हाई अंकल भनिन। मैले कुरा गर्ने खोजे तर छोरीले त्यती चासो देखाईनन। छोरी तिस मिनेटको ड्राईभिङ्गी दुरिमा बस्ने रहिछन। झन्डै चार महिना पछी आएकी रहिछन।
चार महिना पछी भेट्दा पनि बा, आमा र छोरीमा कुनै विशेष उल्लास देखिन। औपचारिक कुरा मात्र भयो। यही अवस्था नेपालमा भएको भए कस्तो मालोह हुन्थ्यो होला। मैले कल्पना गरे। मैले साथीलाई सोधे- छोरीको विबहा भयो? खै दुई वटा बेक-अप भयो भन्थि। सायद अहिले अर्कै संग लिभिङ्ग टुगेदरमा छ क्यारे। कस्तो सहज जवाफ। म छक्कै परे। सायद छोरीलाई भोक लागेको थियो क्यारे। भान्सा कोठामा गएर फ्रिज खोलिन। फ्रिजमा पिजा रहेछ। पिजा देखेर आमालाई सोधिन-“वाह! क्यान आइ ईट अ पिस अफ पिज्जा”? आमाले भनिन- “यु क्यान इट अ स्माल पिस”। मैले नेपालमा आमा- छोरीको संम्वध संझिय। मेरो मन भक्कानियो। चार महिना पछी आएकी छोरी झन्डै १५-२० मिनेट पछी उठ्दै भनिन – “आइ एम इन हरी, आइ सुड लिभ नाव”। जादै गर्दा ढोका बाहिर आमाको पुरानो चप्पल देखेर आमा तिर फर्केर भनिन “क्यान आइ टेक योर ओल्ड सिल्पर्स”? आमाले सहजै भनिन- “नो”। छोरी वाईवाई गर्दै बाहिर निस्किन र आफ्नो कार चडेर हुईकीइन। मैले नेपालमा आमा- छोरीको संम्वध संझिए, घुटुक्क थुक निले।
छोरी निस्केको केही क्षणमा कान्छो छोरा कृस्ट्रोफर आयो। नेपाली फिटिक्कै नबोल्ने। बुझ्न चाँही अलिअली बुझ्ने। उ अहिले १७ बर्ष ३ महिनाको भएछ। खुलेर कुरा गर्ने। अबको नौ महिना पछिको तिब्र प्रतिक्षामा। १८ बर्ष पुगे पछि खुलेर चुरोट, रक्सि किन्न र पिउन पाउने। एक्लै बस्न पाउने। उ भन्दै थियो “नो मोर कम्ट्रोल अफ्टर एट्टिन”। मानौ उ साघुरो पिजडामा बन्द छ र नौ महिना पछि त्यो पिजडाबाट मुक्त हुँदैछ।
मेरो मन भक्कानियो। साथीलाई सोधे- मलाई तिमीहरुको व्यबहार मन परेन। किन यस्तो व्यबहार? साथीले आफ्नो सामाजिक र सास्कृतिक मुल्य मान्यता सिकाउन भरपुर प्र्यास गरेका रहेछन। तर केही शिप लागेनछ। नेपाल छोडेर उता गएकोमा पछुताए। बुढेसकाल नेपाल फर्कने सोचमा रहेछन। कुरा गर्दा गर्दै साथीको आँखामा आसु आए। मलाई नमज्जा लाग्यो। साथीको पिडा सुन्दा तिनको संम्पन्न्ता सबै फिक्का लाग्यो।
मेरो तेस्रो अनुभव अस्ट्रेलियाको। छोरा बुहारी भेट्न म बेला बखत अस्ट्रेलिया जान्छु। अस्ट्रेलिया हुँदा साझ-बिहान प्राय: पार्कमा जाने गर्दछु। पार्कमा भेटिएका विदेशिएका संन्तान भेट्न आउने नेपाली अभिवाबकको पिडा अर्को महाभारत रहेछ। स्याङ्जाका चण्डी प्रसाद्का एउटै सन्तान अस्टेलियामै बस्दछन। श्रीमती संग छोरा, बुहारी र नाती नातिना भेट्न सिड्नी आएका चण्डी एक हप्तामै वाक्क दिक्क देखिन्छन। छोरा बुहारी आक्कल झुक्कल भेटिन्छन्। कहिले मध्य राती त कहिले बिहान झिसमिसे उज्ज्यालो नहुँदै। नाती नातिना डे बोडर्स । आएको हप्ता दिन भयो अझ सम्म संगै खाना खाएका छैनौ। नाती नातिनाले हाम्रो कुरा बुझ्दैनन। हामीले तिनिहरुको भाषा बुझ्दैनौ। बुढाबुढी र नाती नातिनाको सम्वाद भनेको त्यही बिहान स्कुल जादा “बाईवाई” भन्ने मात्र हो।
हामी आएकै भोली पल्ट बुढीले बैठक कोठाको भित्ता समाएर उठ्न खोजेकी थिईन, छोराले “ए आमा त्यो भित्तामा हात नलगाउनुहोस- फोहोर लाग्छ” भन्यो। बुढीको चित्त दु:खाई। त्यो भन्दै गर्दा बुढीका आँखा रसाए। मैले बुढीलाई सोधे – कस्तो लाग्यो त आमा अस्ट्रेलिया? बाबु, हामी अस्ट्रेलिया होईन आफ्ना संन्तान खोज्दै आएको हो। भो बाबु, यो ठाम भन्दा त हाम्रो खर्कनै जाती। जो भेटिएपनी बोल्न पाइने। यहाँका त मान्छे पनि निसाचार जस्ता। दिउसो सुत्ने राती हिंड्ने। अस्ती त्यो बे सार हो कि के हो भन्थे, अहो, दमाह जत्रो भुँडी देखाउने म्वाई खाँदै। मलाई त लाज लाग्यो। बुढाले थपे ” वेवी सावर” हो रे। खान बस्न त राम्रै छ। फ्रिज भरी समान छ मन लागेको खानु भन्छन। खै सबै सिसी र पाकेट भित्र छन। के खाने? कसरी खाने? त्यही पाउरोटी जानेका छौ त्यही खान्छौ। कोठा भित्र अत्तरको हस्को आउँदछ। हामी गाई बाख्राको गन्धमा हुर्केका, त्यो गन्ध पटक्कै मन पर्दैन।
यहाँ न आउँदा सम्म कहिले छोरा, बुहारी नाती नातिना भेट्न् जाउ जस्तो भयो। अहिले कहिले गाम जाउ जस्तो भएको छ् बाबै। कर्मको लेखा, हामी यहाँ बस्न सक्दैनौ, उनिहरु नेपाल जादैनन। कस्तो हरी बिजोग भयो। बुढाबुढी दुबै जिउदै हुँदा त एक अर्काको आड भरोसा साहरा होला। दैवले एउटालाई पछी त बरवात हुन्छ। त्यही संझेर रात भर निन्द्रा लाग्दैन। मर्ने बेलामा छोराको हातबाट पानी खाएर, घरको ताला-चापी बुहारीको हातमा राख्दिएर मर्ने धोको पुरा नहुने भयो बाबु। आमा सुक्क रुन थालिन।
माथि उल्लेखित प्रतिनिधि उदाहरण मात्र हुन। हरीदत्त र चन्द्रकलीको अपेक्षा र एलिजावेथ र शार्लोटको अपेक्षामा कतै कुनै ताल मेल नै छैन। पुरै कल्पना भन्दा बाहिर। कहिल्लै नसोचेको। यो पुस्तान्तरण, संस्कृति, मूल्य-मान्यता र संस्कारको अन्तर हो। सामाजिक र सास्कृतिक मुल्य मान्यताको फरकले अहिलेको पाको पुस्ताको पिडा। किनकी एलिजावेथ र शार्लोट त दुई चार दिन फरक “एक्सपेरेन्स” र “फिलिङ्ग” लिएर अस्ट्रेलिया फर्कने छन। तर, हरीदत्त र चन्द्रकलीको बुढेशकालको अपेक्षा के होला?
नेपालमै जन्मि हुर्की आफ्ना संन्तान संगै परदेशिएको गौरवको आफ्नै ब्यथा र पिडा छ। एक प्रकारकाे सामाजिक संरचनामा दिक्षित भएको गौरव र उसको परिवार न पुरै पश्चिमेली हुन सक्यो न एसियाली। यो अन्तरे पुस्ताको मर्का बाहिरबाट हेर्दा जती लोभ लाग्दो छ भित्र भितै त्यतिनै कहाली लाग्दो।
चण्डी प्रसाद र आमाको भावना जती कारुणिक छ त्यतिनै अत्यास लाग्दो। चिसो वा पिरोले बाडुल्की लाग्दा छोरा बुहारी ले संझेको मिठो अनुभुतीमा जिएका आज वास्तविकतामा उदङ्गिएको छ। बुढेसकालको अवस्थाको कल्पनाले मात्र पनि त्यसै ऐठन गर्दै छन।
बा आमाको खुशि किन्न र ॠण तिर्न परदेशिएका हाम्रो युवा पुस्ता उतै रमाउदै गर्दा तिनिहरुका अभिवावक पुस्ता निस्सासिदै गएका छन। आफ्ना संन्ततिको सुखमा आफ्नो खुशि देख्ने यो पुस्ता बुढ्यौली टेक्दै गर्दा आफ्नो साहरा गुमाउदै छन। अन्तर-देशिय बसाइँ सराईको यस्तो छिटो र आकस्मिक भयो कि हाम्रो अभिवावक पुस्ताले तयारी गर्ने भ्याएन। हिजोको अनुभव, आजको अपेक्षा र भोलिको वास्तविकता कुनै तालमेल छैन। पारिवारिक र सामाजिक संरचनामा भएको यो आकस्मिक परिवर्तनको मूल्य अहिलेको अभिवावक पुस्ताले चुकाउनु परेको छ। कल्पनानै नगरेको उराठलाग्दो भविस्यमा जिउनु परेको छ।
परदेशियको सन्तान, रित्तिएका घर र गाउ-बस्ति, ओईलाउदै गएका अपेक्षाहरु, चाउरी पर्दै गरेका अनुहारहरुका जिवनको बारेमा सोच्न ढिला भैसकेको छ। धन सम्पतिले नापिने सम्पन्नतालाई परिस्थितीले पुनर्परिभाषित गर्नु पर्ने भएको छ। हाम्रो जस्तो सामाजिक सुरक्षा नभएको देशमा यी पाका पुस्ताको बारेमा ब्यक्ति, समाज र राज्यले यथोचित रणनीति र कार्यक्रम तयार गरी लागु गर्नु पर्दछ।