काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच तत्काल समाजवादी शक्तिहरूबीच साझा मोर्चा र कार्यक्रम बनाएर सहकार्य गर्दै भविष्यमा एकताको आधार तयार पार्नेबारे समझदारी भएको छ ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई नेताबीचको भेटवार्ताका क्रममा सो समझदारी भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए । सो क्रममा माओवादीधाराका सबै शक्तिहरू एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकताबारे नेताहरूबीच गहन छलफल भएको जनाइएको छ ।
माओवादी धाराहरू एक ठाउँमा उभिँदा परिवर्तनका मुद्दा प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सजिलो हुने र अन्य वामपन्थीहरूबीच सहकार्य र एकताको वातावरण तयार हुनेमा नेताहरू एकमत भएको तिमल्सिनाले बताए । भेटका क्रममा विप्लवले अघिल्ला सरकारहरूसँग भएका सहमति कार्यान्वयनमा सरकारको धारणाबारे चासो राखेका थिए। सो क्रममा प्रधानमन्त्रीले विगतका सरकारले गरेका सबै सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै बन्दीहरू रिहाइका लागि सरकारका तर्फबाट पहल भइरहेको जानकारी दिए ।


