काठमाडौँ । उद्योग तथा व्यवसायको विषयमा अमेरिकी राजदूत डिन आर थम्पसनसँग विराटनगरका उद्योगी व्यवसायीले छलफल गरेका छन्।
उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले नेपाल र अमेरिकाबीचको द्विपक्षीय व्यावसायिक हितबारे छलफल भएको जानकारी दिए।
उद्योग संगठन मोरङमा शुक्रबार भएको छलफलमा अमेरिकाले सहुलियतपूर्ण प्रवेशको अनुमति दिएको ७७ वटा वस्तुको सूची पुनरवलोकन गर्न माग गरेको अध्यक्ष प्याकुरेलले बताए।
उनले अनुमति पाएका ७७ वटा वस्तु अपेक्षाकृत रुपमा निर्यात हुन नसकेको प्रस्ट्याए। त्यसैगरी, अमेरिकी सरकारले एमसीसीजस्ता ठूला र दीर्घकालीन परियोजनामा लगानी गर्दा जलाशययुक्त विद्युत् गृह र नेपालको जलमार्ग विकासतर्फ लगानी गर्न सुझाव दिएको उनले बताए।
यस क्रममा अमेरिकी राजदूत थम्सनले नेपाल र अमेरिकाबीचको व्यावसायिक विस्तारका लागि आफू सदैव सकारात्मक रहेको बताएका थिए।
राजदूत थम्सनले अमेरिकाले सहुलियतपूर्ण निकासीका लागि अनुमति दिएको वस्तुको सूचीलाई पुनर्विचार गर्न पहल गर्ने बताए। सो अवसरमा राजदूत थम्सनले उद्योग संगठन मोरङमा रहेको अमेरिकन कर्नरको निरीक्षण गरेका थिए।


