वीरगञ्ज – साउन १० गते रौतहटको चन्द्रपुर नगरपालिका–१० बालचनपुरस्थित महाबिर आयल स्टोर्सबाट प्रहरीले मोटरसाईकलबाट नेपाली नक्कली नोटसहित दुई जनालाई पक्राउ गरयो।
नक्कली नोटको ओसार पसार भईरहेको सुचनाको आधारमा प्रहरीले प्रदेश ०२–०२१ प ६३६८ नम्बरको मोटरसाईकलमा सवार रहेका सर्लाहीको गौडैता नगरपालिका–८ का नजरे आलम र ईमामुल हक दर्जीको साथबाट नेपाली एक हजार दरका १३ हजार नक्कली नोट बरामद गरेको थियो।दुबैजनाले मोटरसाईकलको सिट कभरमुनि नक्कली नोट लुकाएका थिए। नयाँ आर्थिक बर्ष ०८१/८२ शुरु भएलगतै रौतहट प्रहरीले नेपाली नक्कली नोट बरामद गरेको यो पहिलो घटना हो।
तर रौतहटमा भने नेपाली नक्कली नोटको कारोबार पहिलेदेखि हुदै आएको प्रहरीको तथ्याँकले देखाउँछ।बितेको आर्थिक बर्ष ०८०/८१ मा रौतहटबाट अठार लाख ७० हजार बराबरको नेपाली नक्कली नोट प्रहरीले बरामद गरेको छ।रौतहट प्रहरीले दिएको तथ्याँक अनुसार बितेको आर्थिक बर्षको पुस १९ गते प्रहरीले एक हजार दरका १ हजार ८४३ थान नेपाली नक्कली नोट गरी जम्मा १८ लाख ४३ हजार नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको थियो।नक्कली नोटसहित गुजरा नगरपालिका–५ हरिहरपुर बस्ने २५ वर्षीय सन्दीप जैसवाललाई प्रहरीले पक्राउ गरेको थियो।
उनलाई चेकजाँचको क्रममा देवाही गोनाही नगरपालिका–८ पटेल चोकबाट पक्राउ गरिएको थियो।जिल्लामा बितेको आवमा कुल अठार लाख ७० हजार बराबरको नेपाली नक्कली नोट र चार सय भारतीय नक्कली नोट बरामद गरेको थियो।यस्तै कम मात्राको नक्कली नेपाली नोटसहित पनि प्रहरीले बितेको आवमा बेलाबेलामा मानिसहरुलाई पक्राउ गरेको थियो।उक्त नोटहरुको तस्करी र कारोबारमा संलग्न रहेका कुल एघार जना ब्यक्तिलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी प्रबक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन्।
यसैगरी बितेको आवमा रौतहटबाट नै एक बर्षको अवधिमा ३० लाख ६५ हजार ६६५ रुपैया प्रहरीले बरामद गरेको छ।उक्त हुण्डी कारोबारमा सँलगन रहेको आरोपमा प्रहरीले ६ जना ब्यक्तिलाई पनि पक्राउ गरेको डिएसपी गिरीले बताइन्।


