काठमाडौं । संघीय संसद् भवनअगाडि आफैंलाई पेट्रोल छर्केर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ । आगो लगाउनु अघि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको ६ हजार ५५३ शब्दको स्ट्याटसका आधारमा प्रहरीले अनुसन्धान थालेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतका अनुसार आचार्यले आफूले पाउनु पर्ने रकम नदिएको आरोप लगाएका व्यक्तिहरुमाथि सोधपुछ सुरु भएको छ । साेहीक्रममा सोमबार प्रहरीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङलाई बयानका लागि बोलाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंको टेकुस्थित कार्यालयमा उनको बयान भइरहेको प्रहरीले स्रोतले जनाएकाे छ ।
प्रेमप्रसाद भाटभटेनी लगायतलाई उधारोमा सामान दिइरहेको परेको भन्दै उनीहरुले त्यो सामान बेचेर पैसा अन्यमा घुमाएर अरु मुनाफा कमाएपछि मात्रै बल्ल उत्पादकलाई दिने गरेको उल्लेख गरेका थिए । ‘धनी पैसाले नै उक्लेको उक्ल्यै, गरिब थिचिएको थिचियै’, उनले भनेका थिए ।


