काठमाडौं । काभ्रेको जंगलमा फसेकी एक विदेशी महिलाको उद्धार गरिएको छ ।
धुलिखेल जंगलमा फसेकी ५५ वर्षीया फ्रान्सेली नागरिक सिन्थिया पेट्रिघको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।
पेट्रिघ शुक्रबार बिहान नमोबुद्ध गुम्बा भ्रमण गरेर फर्किने क्रममा धुलिखेल नगरपालिका-१२ ताइचे खोलास्थित गोरेटो बाटोमा हिँड्ने क्रममा चिप्लिएर सडकबाट खोल्सामा खसेकी थिइन् ।
खोल्सामा खसेकी अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरी चौकी श्यामपाटीबाट खटिएको टोलीले पेट्रिघको उद्धार गरेको हो । उनमा कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ ।
उनी आरसीओ यूएनकी कर्मचारी भएको खुलेको छ । प्रहरीले सम्बन्धित संस्थासँग समन्वय गरेर पेट्रिघलाई जिम्मा लगाउने प्रयास भइरहेको जनाएको छ ।


