अव्यवस्थित सहरी विकास नेपालजस्ता विकासोन्मुख मुलुकका लागि अहिले टाउको दुखाइको विषय बनेको छ । आवश्यक मापदण्ड र पूर्वाधारको विकास नगरी सहर वृद्धि हुँदा त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने मुख्य चुनौती हो । विकसित देशहरुले कुनै क्षेत्रमा आवास वा सहर विकासको क्रममा पहिले पानी, बत्ती, ढल, सडक, फुटपाथ, पार्किङ, पार्क, अस्पताल, विद्यालय, बजारजस्ता संरचनाहरु पहिले नै तयार गरिसकेको पाइन्छ । तर, हाम्रो जस्तो देशका सहरमा भने पहिला घर बन्ने र त्यसपछि मात्र अन्य आवश्यक संरचनाको खोजी गर्ने प्रचलन छ । त्यही कारण, काठमाडौं, पोखरा, चितवन, बुटवल, वीरगन्ज जस्ता नेपालका ठूला सहरहरु अव्यवस्थित बसोबासको सिकार भएका छन् । सहरमा गाउँबाट अत्यधिक बसाइँसराइ हुँदा उनीहरुको व्यवस्थापन पनि ठूलो चुनौती हो ।
व्यवस्थित सहरको विकास कसरी गर्न सकिएला त ? काठमाडौं महानगरका बेयर बालेन्द्र शाहले ब्राजिलमा हालै भएको मेट्रोपोलिस निर्देशक समितिको बैठकमा यसबारे आफ्ना धारणा र योजना सुनाएका छन् । ठूला सहर केन्द्रित बसाइँसराइको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनुपर्ने उनको भनाइ छ । उनकै शब्दमा भन्नुपर्दा ‘देशभरका सबै स्थानमा जनताले राज्यबाट प्राप्त गर्ने सेवा र सुविधा एकनाशको हुनुपर्छ एउटा सहरले मात्रै सबै शक्ति र स्रोतको उपभोग गर्ने वातावरण हुनु हुँदैन । ‘बसाइँसराइले स्थानीय कला, संस्कृति, भाषा, पर्व पनि हराउँछ, त्यसैले त्यो सहरको कला, संस्कृति र भाषालाई जोगाउन पनि बसाइँसराइलाई निरुत्साहित गर्दै त्यहीँ बस्ने वातावरण बनाउनुपर्छ ।’ घरबारविहीनलाई भने महानगरकै समन्वयमा गैरसरकारी संस्थाका साथै अन्य सहयोगी संस्थासँग सहकार्य गरेर गाँसबासको सुनिश्चितता गर्ने काम गरिरहेको पनि बालेनले दाबी गरेका छन् ।
मेयर शाहले भनेजस्तै अब सहरी विकासका लागि सरकारले काम गर्न ढिलाइ गर्न हुन्न । यसका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक छ । सहर विकासका लागि सर्वप्रथम त गाउँ विकास जरुरी छ । गाउँमै व्यावसायिक वातावरण, रोजगारी सिर्जना, आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छ । सहरका भवन तथा बसोबास व्यवस्थापनका लागि ठूला सहरमा भएका स्वास्थ्य, शिक्षा, रोजगारीका अवसर र सहर जीवनयापनका सुविधाहरू नजिक रहेका सहरहरूमा पु¥याएर, ठूला सहरमा केन्द्रीकृत हुँदै गएको जनसंख्याको चाप घटाउन थाल्नुपर्छ । यस्तै, काठमाडौंजस्ता सहरले आसपासका नगरपालिका र गाउँपलिकासँग सहकार्य गरेर त्यहीँ प्राप्त गर्न सकिने सुविधालाई सुदृढ गर्न आवश्यक छ । अवसर र सुविधाको खोजीमा सहर आएकालाई सीपमूलक तालिम दिएर पुनः आफ्नो ठाउँमा फर्केर आत्मनिर्भर जीवन बिताउन सहयोग गर्नुपर्छ । सहरमा पनि व्यक्तिले कब्जा गरेका सरकारी जग्गा पुनः सरकारकै मातहतमा ल्याउने त्यसमा पार्क निर्माण गर्ने र खाली स्थानहरुमा स्थानीय सहज हुने संरचना निर्माण गर्ने जस्ता काम पनि सरकारले गर्न आवश्यक छ । अनि मात्र व्यवस्थित सहरको अवधारणा सफल हुन सक्छ । जनधारणा साप्ताहिकबाट