सरकारमा सहभागी दलहरुमध्ये रास्वपा नयाँ पार्टी हो । स्थापना भएको केही महिनामै निर्वाचनमा सहभागी भएर चौथो दल बन्न सफल भएको रास्वपामा नेपाली राजनीतिका नयाँ अनुहार छन्, युवा जोश र जाँगर छ । अहिले रास्वपा सत्ता गठबन्धन टिकाइराख्नका लागि निर्णायक पार्टी पनि हो । त्यसकारण गत फागुनमा यो गठबन्धन बन्नेक्रममा सत्ताबाट बाहिरिएको कांग्रेसले रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रलोभन पनि देखाएको थियो । तर, रास्वपा र लामिछानेले वर्तमान गठबन्धनलाई नै रोजे । त्यसयता उनी कांग्रेसको निरन्तर निशानामा पनि परिरहेका छन्, उनीमाथि विभिन्न आरोप पनि लागेका छन् ।
विपक्षीको प्रहारबीच अहिले रास्वपा सरकारकै कामकारबाहीबाट सन्तुष्ट हुन सकेको छैन । पार्टी स्थापना दिवसको दिन हालै आयोजना गरिएको कार्यक्रममा सभापति लामिछानेले आफूहरुमाथि ठूलो भार रहेको जनाए । अहिलेको अवस्थामा नराम्रो नगर्नु नै राम्रो गर्नु रहेको भन्दै उनले रास्वपाले सरकारमा गएर कुनै पनि नराम्रो नगरेको जनाए । यद्यपि, त्यतिले मात्र नपुग्ने र जनआंकाक्षालाई पूरा गर्न आफूहरु भरमग्दूर प्रयास गर्ने पनि लामिछानेको भनाइ थियो । रास्वपाका नेता एवं युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले त सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको जनाए । सरकार पुरातन र कर्मकाण्डी हिसाबमै चलेको र आफूहरु खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको उनको भनाइ थियो । रास्वपामाथि अनावश्यक, अनधिकृत हिसाबले सम्झौता गर्न लगाए सरकारबाट बाहिरिने उनले चेतावनी दिए । मन्त्री श्रेष्ठले रास्वपाले आशा र सम्भावना जीवित राखेर काम गरिरहेको जनाए ।
रास्वपाका यी नेताहरुको अभिव्यक्ति पक्कै पनि उनीहरु सरकारबाट सन्तुष्ट छैनन् भन्ने स्पष्ट हुन्छ । सरकारमा अहिले रास्वपाबाट चार मन्त्री छन् । सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री छन्, श्रेष्ठ खेलकुदमन्त्री, उपसभापति डीपी अर्याल श्रममन्त्री र सुमना श्रेष्ठ शिक्षामन्त्री छन् । तर, उनीहरुमाथि बेलाबेलामा सत्तामा सहकार्य गरेका दलका नेताहरुबाट नै प्रहार हुने गरेको छ । साथै प्रधानमन्त्रीदेखि अन्य मन्त्रालयबाट पनि सहयोग नपाएको उनीहरुको गुनासो छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सरकारबाट नबाहिरिने जनाएका छन् । रास्वपाका मन्त्रीहरूले राजीनामा दिन लागेको भन्ने विषयमा सत्यता नरहेको उनको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले गोजीमा राजीनामापत्र बोक्नु रास्वपाको पहिचान नै भएको पनि जनाएका छन् । यसको अर्थ रास्वपालाई जसरी पनि सरकारमा राखिराख्ने दाउमा माओवादी तथा एमाले पक्ष छ । पुराना पार्टीका कार्यशैलीका निराश जनताले रास्वपालाई गत चुनावमा मत दिएका थिए । तर, सरकारमा राखेर काम गर्न नदिए रास्वपाको क्रेज घट्न सक्ने पक्षमा पुराना पार्टीहरु देखिन्छन् । त्यसकारण रास्वपाले अहिले आफ्नो महत्व र सरकारको आफ्नो भूमिकाको समीक्षा गर्न आवश्यक छ । यदि जनताको अपेक्षा अनुसार काम गर्न नसक्ने हो भने सत्तामा टाँसिरहनु रास्वपाका लागि हानिकारक हुने निश्चित छ । जनधारणा साप्ताहिक


