काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राजनीतिक दलका लागि सत्ता मात्रै महत्वपूर्ण भएको हुने गरेको बताएका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले राजनीतिक दलहरुका लागि सत्ता नै सबैथोक हुने गरेको जनाएका हुन्।
उनले नयाँ राजनीतिक दल वा पुराना राजनीतिक दलहरु सबैका लागि सत्ता नै सबैथोक भएको भन्दै यसले लोकतन्त्रको रक्षा हुन नसक्ने जिकिर गरे। उनले सत्ता प्राप्तिका लागि राजनीतिक दलहरु मानव अधिकार उल्लंघन गर्न पनि तयार हुने गरेको जनाए।
उनले सत्ताकेन्द्रित राजनीतिक मनोविज्ञान भएको हुनाले नागरिक आन्दोलनले मात्रै निःस्वार्थ ढंगबाट कुराहरु उठाउन सक्ने जनाए। उनले अहिले नागरिक आन्दोलन कमजोर बन्दै गएको उल्लेख गरे।
उनले भने, ‘अहिले नागरिक आन्दोलन कमजोर भएको छ। नागरिक आन्दोलन नै छैन। त्यसैले राजनीतिक दल सत्तामा जान्छ, सत्तामा गएपछि विपक्षमा हुँदा जे कुरा गर्दथ्यो, सत्तामा गएपछि फरक कुरा गर्दछ। राजनीतिक दलका लागि विशेष गरी नेपालको परिवेशमा सत्ता मात्रै उसको सबैथोक भयो।’
सांसद पौडेलले संसदको चुनाव गर्ने र बहुमत जुटाएर प्रधानमन्त्री बन्ने कुरा मात्रै लोकतन्त्र नभएको बताए। उनले राज्यले आम नागरिकप्रति उत्तरदायी भएर काम गर्नु र सरकार जवाफदेही बन्नु लोकतन्त्र भएको बताए।


