काठमाडौं । विराटनगर सुपर किंग्स काठमाडौं नाइट्सलाई सोमबार ९९ रनले पराजित गर्दै नेपाल टी–ट्वान्टीको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । अब फाइनल प्रवेशका लागि विराटनगरले जनकपुर रोयल्सको सामना गर्नेछ ।
टीयू क्रिकेट मैदानमा भएको इलिमिनेटरमा जितका लागि १ सय ८३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १२.४ ओभरमा सबै विकेट गुमाएर ८३ रन मात्र बनाउन सक्यो । सबै विदेशी खेलाडी फर्किसकेको हुनाले काठमाडौं यस खेलमा नेपाली खेलाडी मात्र उतार्न बाध्य रहेको थियो । त्यस क्रममा काठमाडौंको ब्याटिङ निकै कमजोर रह्यो ।
त्यसमा पुछारका ब्याटर अभिनाश बोहराको १६ रन नै उच्च व्यक्तिगत स्कोर रह्यो । कप्तान ज्ञानेन्द्र मल्लले १५ रन बनाए । काठमाडौंका सात ब्याटर एकोहोरो अंकमै सीमित रहे । सूर्य तामाङ बलिङमा घातक सावित भए र उनले १४ रन खर्चेर चार विकेट लिए । विराटनगरले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो र यसक्रममा ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।
त्यसमा ‘प्लेयर अफ द म्याच’ रोहित पौडेलले ४९ बलमा ६१ रन बनाए । कप्तान रोहितले ६ चौका र दुई छक्का प्रहार गरे । यस्तै विवेक यादवले १८ बलमा आक्रामक ४६ रन थपे । उनले तीन चौका र तीन छक्का प्रहार गरे ।


