काठमाडौं । नेपाल राष्ट्र बैंकक गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाको मर्जरले बैंकहरू ठूला र सबल बन्दै जाँदा वित्तीय मध्यस्थता लागत घट्दै गएको जनाएका छन् ।
सोमबार ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुको मर्जरपछिको एकीकृत कारोबार उद्घाटन समारोहमा उनले बैंकहरूले मर्जरले ठूलो बन्दै गएपछिको अबको अपेक्षा बैंकहरू स्वनियमनमा बस्नुपर्ने जनाए । यस्तै बैंकहरुले बढीभन्दा बढी लगानी प्राथमिकता क्षेत्र राष्ट्रिय उत्पादनमा केन्द्रित गर्नुपर्ने उनले जनाए ।
बैंक ठूलो बन्दै गर्दा एकल लगानीको सीमा निर्धारण गर्दै बढीभन्दा बढी कर्जा लगानी साना ऋणीमा केन्द्रित गर्नुपर्ने उनले बताए । मुख्य सचिव शंकरदाश बैरागीले अर्थतन्त्रमा सकारात्मक संकेत र आर्थिक सूचकमा सुधार आएको जनाए ।
आर्थिक सूचकमा सुधार देखिदै गरेको भन्दै उनले यो मर्जरले वित्तीय क्षेत्रको स्थायित्वमा ठूलो योजगदान पुर्याउने जनाए । उनले निजी क्षेत्र हतोत्साहित हुनुपर्ने अवस्था नभएको समेत जनाए । ‘निजी क्षेत्र हतोत्साहित हुनुपर्ने भयावह अवस्था छैन ।
सरकारले निजी क्षेत्रलाई साथ दिनेछ,’ उनले भने, ‘निजी क्षेत्रको मनोबल कसरी बढाउन सकिन्छ भनेर यो सरकारको मन्त्रिपरिषद् बैठकको पहिलो निर्णय नै त्यसमा केन्द्रित हुने भनेर गरेको छ ।’


