काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्चीको पानी एक महिना भित्र काठमाडौंमा ल्याउने लक्ष्यसहित काम भइरहेको बताएका छन्।
मंगलवार सिंहदरवारस्थित आफ्नै कार्यकक्षबाट राष्ट्रको नाममा सम्बोधन गर्दै उनले मेलम्चीको पानी उपयोग गर्न नपाएको गुनासो आफूले सुनिरहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि आफूले सम्बन्धित निकायसँग छलफल गरिरहेको बताए। मेलम्ची खानेपानीको समस्याबारे आफूले सबै सम्बन्धित निकायसँग छलफल गरी समाधानका लागि काम अघि बढाएको प्रधानमन्त्री दाहालको भनाइ थियो ।
उनले भने, ‘मेलम्चीको पानी काठमाडौं आउँदैन भन्ने भाष्यलाई गलत सावित गर्नुछ । १७ करोड लिटर पानी एक महिना भित्र सुन्दरीजलमा पुर्याउने लक्ष्यसहित २८ दिनको कम्प्याक्ट योजनासहित अहिले म काम गरिरहेको छु । मेलम्चीको दोस्रो चरणको आयोजनाबारे पनि संवाद जारी छ । त्यतिमात्रै होइन खानेपानी सम्बन्धि काम गर्ने निकायको संरचनागत सुधार गर्नेतर्फ प्राथमिकता रहनेछ ।’
प्रधानमन्त्री दाहालले खानेपानीसम्बन्धि काम गर्ने निकायको संरचनागत सुधार गर्ने कामलाई पनि सरकारले प्राथमिकता दिएको जनाए ।


