काठमाडौँ / नेपाली कांग्रेसले संविधान कार्यान्वयन र वर्तमान राजनीतिक व्यवस्थासहित विभिन्न विषयमा उठेका प्रश्नहरूमाथि आगामी महासमिति बैठकमा छलफल गर्ने भएको छ । नेताहरूले अहिले उठिरहेका राजनीतिक सवालहरूका विषयमा पार्टीको महासमिति बैठकले घनीभूत छलफल गरी पार्टीको दृष्टिकोणलाई थप प्रस्ट पार्ने बताएका छन् ।
धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा बुधबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकमा संविधान कार्यान्वयन र व्यवस्था परिवर्तन लगायत विषयमा उठेका राजनीतिक प्रश्नहरूमाथि छलफल भएको थियो ।
बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अहिले उठेका यस्ता राजनीतिक प्रश्नहरूलाई पार्टीको आगामी महासमिति बैठकले बलियो सम्बोधन गर्ने बताए ।
‘संविधान कार्यान्वयनका विषयमा प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू काठमाडौं धाइरहेका छन् । यो व्यवस्थामाथि समेत प्रश्न उठाउने दुष्प्रयास भएका छन्,’ उनले भने, ‘यी सबै राजनीतिक विषयहरूलाई हामीले महासमिति बैठकबाट सम्बोधन गर्ने निणर्यमा पुगेका छौँ ।’
कांग्रेसको महासमिति बैठक आगामी पुस १६ देखि १९ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ । पार्टीको महाधिवेशनपछिको शक्तिशाली महासमितिको बैठकमा कांग्रेसले यसपटक नीति महाधिवेशनकै सरह छलफल गर्ने जनाएको छ ।
बुधबारको बैठकमा महासमिति बैठकको तयारीका विविध विषयमा छलफल भएको प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए । बैठकले मुलुकको अर्थतन्त्रलाई माथि उकास्ने विषयमा समेत पार्टी र सरकार गम्भीर हुनुपर्ने निष्कर्ष निकालेको छ ।
पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकमा अर्थतन्त्र सुधारका लागि अर्थविद्हरूसँग परामर्श गर्ने निणर्य गरिएको उनले बताए । ‘अर्थतन्त्र चिन्ताजनक अवस्थामा पुगेको छ । सुधारका प्रयासहरू असफल भइरहेका छन्, किन यस्तो भइरहेको छ ? कसरी मुलुकको अर्थतन्त्रलाई मािथ उठाउन सकिन्छ भनेर अर्थविद्हरूसँग छलफल गर्ने तयारी भएको छ,’ विश्वकर्माले भने ।
त्यस्तै, संघीय प्रहरी ऐन, संघीय निजामती ऐन र संघीय शिक्षा ऐनलाई अघि बढाउने विषयमा देखिएका समस्याहरूमाथि समेत छलफल भएको उनले बताए ।


