काठमाडौँ / प्रमुख प्रतिपक्षी दल एमालेले तामझामका साथ बिहीबार (भोलि)देखि मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रा सुरु गर्दैैछ।
बैतडीको झुलाघाटबाट पाँचथरको चियो भन्ज्याङसम्मको झण्डै १८ सय किलोमिटर लामो यात्रा सुरु गर्न लागेको हो। ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’नाराका साथ राजनीतिक यात्रा गर्न सबै तयारी पूरा भएको एमालेले जनाएको छ।
बिहीबार बिहान कार्यक्रमको उद्घाटन गर्न अध्यक्ष केपी शर्मा ओलीसहितका नेता झुलाघाट नजिकै पर्ने गोठालापानी पुगेका छन्। पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बिहान ८ः३० बजे अध्यक्ष केपी शर्मा ओलीले सभामार्फत यात्राको थालनी गर्नेछन्।
संगठनलाई थप मजबुुुत पार्ने उद्देश्यका साथ पार्टीलाई जनतामा थप स्थापित गर्ने, व्यवस्था र संविधानको रक्षाका लागि मध्यपहाडी यात्रा गर्न लागिएको एमालेले जनाएको छ।
२० हजारजना सहभागी हुने दाबी गरिएको यात्राका क्रममा साना ठूला खालका सभा हुनेछन्। पर्यटन र स्थानीय स्रोत साधनकोे प्रबद्र्धनका लागि पनि एमालेले आफ्ना स्थानीय कमिटिलाई निर्देशन दिएको छ। पुस १ गते सकिने यात्राका क्रममा १७ ठाउँमा ठूला सभा गर्ने र १९ ठाउँमा वास बस्ने कार्यक्रम तय भएको छ।
सचिव अधिकारीका अनुसार पार्टीका शीर्ष नेताहरुले गोठालापानी, सिलगढी, मंगलसेन, दैलेख, सुर्खेत, रिम्ना, वामीटक्सार, कुस्मामा सम्बोधन गर्नेछन्। त्यस्तै सन्दरबजार, बट्टार, कुन्तावेंसी, चरिकोट, हर्कपुर, भोजपुर, बसन्तपुर, फिदिम र च्याङ्थापु ठूला सभा आयोजना हुनेछन्।
दैनिक एक सय किलोमिटर यात्रा गर्ने लक्ष्य राखिएको अभियाका क्रममा ठाउँ ठाउँमा सानाका खालका कोणसभा, भेला बैठक, पार्टी मिटिङसमेत आयोजना गरिनेछ। यात्राका क्रममा एमालेले जनाका समस्या सुुन्ने, विकास निर्माणको अवस्थाबारे जानकारी लिने, विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तरक्रिया गर्ने योजना बनाएको छ।

यात्रालाई व्यवस्थित बनाउन बास बस्ने ठाउँकोे पहिल्यै निर्धारण गरिएको छ। कार्यक्रमलाई व्यवस्थित र एकीकृत गर्नका लागि १९ ठाउँमा मात्रै बास बस्ने व्यवस्थाा मिलाइएको अधिकारीको भनाइ छ।
उनका अनुसार एमाले नेता कार्यकर्ताहरु मंसिर १३ गते (आज) गोठालापानीमा बास बसेका छन्। मंसिर १४ गते अमरगढीमा, मंसिर १५ गते सिलगढी, मंसिर १६ गते मंगलसेन, मंसिर १७ गते दैलेख, मंसिर १८ गते सुर्खेत, मंसिर १९ गते रुकुमकोटमा बास गर्ने तालिका छ।
त्यस्तै मंसिर २० मा गलकोट, मंसिर २१ गते पोखरा, मंसिर २२ गते गोरखा, मंसिर २३ गते बगरकोट, मंसिर २४ गते धुलिखेल, मंसिर २५ गते मन्थलीमा बास बस्ने कार्यक्रम तय गरिएको छ।
मंसिर २६ गते दिक्तेल, मंसिर गते २७ भोजपुर, मंसिर २८ गते वसन्तपुर, मंसिर २९ गते संक्रान्तिबजार, मंसिर ३० गते फिदिम र अन्तिम दिन पुस १ गते चिवाभञ्ज्याङमा बास बस्ने एमालेले जनाएको छ।


