काठमाडौँ / व्यवसायी दुर्गा प्रसाईंले आफूहरुको आन्दोलन नरोकिने बताएका छन्। सोमबार साँझ पत्रकार सम्मेलन गर्दै उनले आफूहरुसँग आन्दोलनको विकल्प नभएको बताएका हुन्।
सबै संसदवादी पार्टीहरु सकिएकाले आन्दोलन गर्नुको विकल्प नरहेको उनको भनाइ थियो। उनले भने,’आन्दोलन रोकिँदैन। अब सबै पार्टीहरु सकिए। हामी अगाडि आन्दोलन गर्नुको विकल्प छैन। एमालेसँगै सबै संसदवादी पार्टी अब सकिए।’
पार्टीहरुको नेतृत्वकै कारण अहिलेको व्यवस्था जान लागेको उनको जिकिर थियो। ‘यो व्यवस्था यिनै पार्टीको नेतृत्वले गर्दा जाने भयो,’ उनले भने।
साथै उनले आफूहरुले थालेको जनविद्रोहमा सहभागी हुन काठमाडौँ उपत्यकाका सर्वसाधारणलाई आह्वानसमेत गरे। उनले आज गौशालामा आफूहरुले गरेको कार्यक्रममा प्रहरीले दमन गरेको भन्दै त्यसप्रति आक्रोश पोखे।
पक्राउ परेका आफ्ना समर्थकहरुलाई रिहा गर्न उनले मागसमेत गरे। प्रसाईंले मंगलबार पुनः गौशालामै आफूहरुले प्रदर्शन गर्ने बताए।
आफूहरुले आन्दोलनका लागि सरकारसँग कुनै ठाउँ नमाग्ने र माइतीघरमा आन्दोलन गर्न नदिए चोकचोकमा प्रदर्शन गर्ने उनको भनाइ थियो।


