भक्तपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण लिएर तिर्दिन भन्ने छुट कसैलाई नभएको जनाएका छन् । मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको शङ्खधर दिवस कार्यक्रममा उनले ऋण लिएर जथाभाबी लगानी गर्ने र अहिले ऋण तिर्दिन भन्न नपाउने जनाए।
मन्त्री महतले भने, “सबैभन्दा ठुलो रकम ऋण लिने र तिर्दिन भन्ने ? अनि त्यसैलाई भजाएर हिँड्ने, ऋण लिएर १० ठाउँमा जथाभाबी लगानी गर्ने अनि ऋण तिर्दिन भन्नेलाई कुनै छुट छैन, तर ऋण लिएर काम गर्दा पनि नोक्सानमा परेर उठ्न नसकेका अप्ठ्यारोमा परेकाको हकमा भने राज्यले हेर्छ ।”
अहिलेकै व्यवस्थामा देश र जनताका लागि धेरै काम गरेको र अझै गर्न सकिन्छ भन्दै उनले जनताको अपेक्षाअनुसार केही काम हुन नसके पनि आगामी दिनमा यही व्यवस्थाले देशको आमूल परिवर्तन गर्ने विश्वास व्यक्त गरे।
“वि.सं २०४६ अगाडिसम्म देशका आधा जनताले चप्पल पनि लाउन पाउँदैनथे, स्वतन्त्र भएर बोल्न पाउँदैनथे, देशमा प्रजातन्त्र आयो, गणतन्त्र आयो जनताको जीवनस्तरमा धेरै परिवर्तन आयो, जनताले बोल्न सक्ने भएका छन्”, मन्त्री डा महतले भने “जनआन्दोलन र बलिदानबाट आएको अहिलेको व्यवस्थालाई खोस्ने सोच कसैको छ भने त्यो सफल हुँदैन, त्यस्ता सपना नदेखे हुन्छ ।” सामाजिक सञ्जालमानमार्फत भ्रम फैलाउने प्रयास भइरहेको जनाए ।
शङ्खधर साख्वालको योगदानको चर्चा गर्दै उनले अहिलेसम्मको उपलब्धिलाई आत्मसात् गर्दै नेपाल संवतलाई कामकाजमा ल्याउने सरकारको निर्णयलाई कार्यान्वयन गराउने उनको भनाइ थियो । नेपाल संवत् राष्ट्रिय संवतको रूपमा स्थापित भएको भन्दै उहाँले मध्यपुरथिमि नगरपालिकाले ऐतिहासिक नामाकरणको अभियान सुरु गरेर पहिचानलाई स्थापित गर्ने कार्यको थालनी गरेको जनाए ।
नेवारी सभ्यताबिना नेपालको पहिचान पूरा नहुने भन्दै अर्थमन्त्री डा महतले विश्वलाई यहाँको पहिचान देखाउन, संरक्षण गर्न र विकसित संस्कृतिलाई पहिचानका रूपमा अगाडि लैजानुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दिलीप प्रजापति, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापा, नेपाली कांग्रेस मध्यपुर नगर सभापति हरिदास प्रजापति, इमेज च्यानलका अध्यक्ष आर के. मानन्धर, राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले नेपालको आफ्नै मौलिक संवतको रूपमा रहेको नेपाल संवत् सबै नेपालीको साझा संवत् हो भन्ने सन्देश घरघरमा पुर्याएर व्यवहारमै लागू गर्ने अभियान चाल्नुपर्ने जनाए ।
कार्यक्रममा सभापति एवम् मध्यपुरथिमिका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमि नगरपालिकाले साख्वाःको योगदानको स्मरण गर्दै हरेक वर्ष शङ्खधर दिवस मनाउँदै आएको जनाउँदै नेपाल संवतलाई कामकाजमा लागू गर्ने सरकारको निर्णयलाई कार्यान्वयनमा ल्याउन सबै लाग्नुपर्ने जनाए ।


