धनगढी / कैलालीमा बैँकका खाता ‘ह्याक’ गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोलीले प्रदेशको राजधानी धनगढीबाट नौ जनालाई पक्राउ गरेको हो ।
नेपाल राष्ट्र बैँक, धनगढी नजिक कार्यालय नै स्थापना गरेर बैँकका खाताहरू ह्याक गर्ने गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई बुधवार प्रहरीको टोलीले पक्राउ गरेको हो ।
लामो अनुसन्धान पछि बुधवार जिल्ला प्रहरी कार्यालय, कैलालीको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताए । उनीहरु सबैको परिचय खुल्न बाँकी रहेको प्रमुख बोहराले बताए ।
जिल्ला प्रहरी कार्यालय, कैलालीमा मुचुल्का उठाउने काम जारी हरेको डिआइजी बोहराले बताए। उनीहरूको कार्यालयबाट १० वटा ल्यापटपसमेत बरामद गरिएको छ।
उनीहरू भारतको दिल्लीमा समेत पक्राउ परेर छुटेको बुझिएको छ। अनुसन्धानमा रहेका प्रहरीका अनुसार नेपालबाट बैँक खाता ह्याक गरी उनीहरूले रकम विदेशसम्म पठाउने गरेका थिए। उनीहरूको विषयमा थप अनुसन्धान जारी रहेको छ।


