काठमाडौं । नेपाल एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक शनिवार बस्ने भएको छ । शनिवार दिउँसो पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको संयन्त्रका प्रमुख भानुभक्त ढकालले जानकारी गराएका छन् ।
उनका अनुसार बैठकमा तीनवटा एजेन्डामा छलफल हुनेछ । ‘संयन्त्रको पूर्वनिर्धारित बैठक भोलि मङ्सिर २ गते शनिवार बस्न लागेको हो’, ढकालले जनाएका छन् । ‘बैठकमा पछिल्लो राजनीतिक गतिविधिका बारेमा अध्यक्ष र महासचिवले धारणा राखेपछि भूकम्पपछि खटिएका स्वयंसेवक, मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रा र युवासंघको आयोजनामा हुने मङ्सिर ७ गतेको कार्यक्रमबारे छलफलको एजेन्डा तय भएको छ ।’
एमाले निकट राष्ट्रिय युवा संघले आगामी मङ्सिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौँमा जनप्रदर्शन गर्दैछ भने सोही दिन मेडिकल व्यवसायी दुर्गा प्रसाईँले पनि सोही दिन कार्यक्रम राखेका छन् ।


