काठमाडाैं । दोस्रो जनआन्दोलनको सिलसिलामा २०६२ सालमा १२ बुँदे सम्झौता गरेका तत्कालीन ७ दल र माओवादी घटकले गणतन्त्रविरुद्ध प्रहार शुरु भएको निष्कर्षसहित मिलेर प्रतिवाद गर्ने सहमति गरेका छन् ।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलवार सिंहदरबारमा आयोजना गरेको बैठकमा १२ बुँदे पक्षधर शक्तिबीच गणतन्त्रको रक्षाका लागि मिलेर अघि बढ्ने सहमति भएको हो ।
एमाले सचेतक महेश बर्ताैलाले सरकारले डेलिभरी दिन नसक्दा व्यवस्थाप्रति नकारात्मक भाव उत्पन्न गराउने खेती भएको बताए ।
‘जनताले चिनी किन्न पाउँदैन, जनतामा निराशा आयो । सरकारको अकर्मण्यताका कारण व्यवस्थामाथि प्रहार हुन थालेको कुरा हामीले बैठकमा राख्यौ’ बर्तौलाले भने ।
बैठकमा एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायत सहभागी थिए ।
मूलधारका राजनीतिक दलप्रति आक्रोश बढाउने, राजतन्त्रको नारा लगाउने र अराजकता फैलाउन दुर्गा प्रसाईँ सक्रिय भएकोले उनका क्रियाकलापलाई छुट दिन नहुने बैठकमा कुरा उठेको थियो ।
प्रसाईँले मंसिर ७ गते गणतन्त्रविरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।


