काठमाडाैँ / नेकपा (एमाले) को केन्द्रीय सचिवालयको २५औँ आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेकपा स्थापनाको ७५ औँ वर्ष समारोहमा संस्थापक महासचिवको स्मृतिमा निर्मित लोकमार्ग केन्द्रित राष्ट्रिय पदयात्रा अभियान सञ्चालनसहित विभिन्न निर्णय गरेको छ।
सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रबर्धनका लागि लोकमार्ग केन्द्रित ‘झुलाघाट देखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ मङ्सिर १४ गते झुलाघाटबाट आरम्भ हुनेछ। साथै राष्ट्र सबल र समृद्ध बनाउने आत्मविश्वासमा अभिवृद्धि जगाउन जनसम्बन्ध विस्तार गरी जनगुनासो एवं जनताका सुझाव सङ्कलन गर्देै सम्बन्ध स्थानीय र सन्देश राष्ट्रिय दिइनेछ।
भूकम्प प्रभावित जाजरकोट र रूकुम जिल्लामा १ हजार बढी स्वयंसेवक परिचालन गरी पीडित परिवारको बसोबासको लागि अस्थायी घरटहरा निर्माण गरिनेछ। पार्टी केन्द्रीय कमिटीको बैठक मंसिर ६ गते काठमाडौंमा बस्ने भएको छ।
जिल्ला अधिवेशन गर्नको लागि तोकिएको समयावधिलाई जेठ मसान्तसम्म बढाएको छ भने पार्टीको प्रदेश अधिवेशनहरूमा उम्मेदवार हुनुभएका गुलावजंग शाह, कैलाश ढुंगेल, हरि रिजाल मायानाथ अधिकारी, कृष्णप्रसाद दाहाल र बिनोद ढकालको केन्द्रीय कमिटी सदस्य पद रिक्त गरिएको छ।


