काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र एवं राहदानी वितरणमा सहजीकरण गर्न निर्देशन दिएका छन्। राहदानी र परिचयपत्रका लागि काठमाडौं आउनु नपर्ने वातावरण सिर्जना गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई लामिछानेले निर्देशन दिएका हुन्।
भर्चुअल माध्यमबाट सोमवार लामिछनेले प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई मिटरब्याजी र नागरिकता विरुद्धका उजुरी छानबिनलाई तीव्रता दिन निर्देशन दिएको गृह मन्त्रालयका सह सचिव डा. भिष्म कुमार भुसालले जानकारी गराए ।
लामिछानेले क्षतिपूर्ति तथा मुआब्जा निर्धारण गर्दा त्यसले राज्यकोषमा पार्ने प्रभाव र मूल्याङ्कनको दीर्घकालीन प्रभावबारे विचार गर्न पनि भनेका छन्।
‘समन्वय सहकार्य र प्रभावकारी संचारमा जोड दिनुहोस्। आफ्नो ढोकासम्म आइपुगेका व्यक्तिहरू ठूलो भरोसा सहित आएका हुन्छन् भन्ने कुरालाई सधैँ हृदयङ्गम गर्नुहोस्,’लामिछानेले निर्देशनका क्रममा धारणा राखे ।
भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशिलताका आधारमा लाग्न लामिछानेले निर्देशन दिएका हुन्। शीतलहरबाट जनतालाई मर्न नदिन पनि लामिछानेले निर्देशनमा उल्लेख गरेका छन्।


