काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिएका छन्।
आइतबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले नेकपा (एकीकृत समाजवादी)अहिलेको गठबन्धनले ल्याएका नीति तथा कार्यक्रमपछि मात्रै सरकारमा जाने वा नजाने भन्नेबारेमा आफ्नो धारणा राख्ने पक्षमा रहेको बताए।
उनले अहिलेको सरकार वामपन्थीहरुको नेतृत्व भए पनि खुट्टा अर्कैले टेकेको बताए। उनले नेकपा एमालेप्रति लक्षित गर्दै सरकारमा प्रतिगमनकारी, पुनःउत्थानवादीहरु सामेल रहेको बताए।
उनले भने, ‘वर्तमान परिस्थितिको बारेमा गहन छलफल गरेका छौँ। यो नयाँ गठबन्धन आएको छ, यो यसो हेर्दा खिचडीजस्तो छ। वामपन्थीहरुको नेतृत्व छ तर तल खुट्टा टेकेको अर्कै खालका मान्छेहरु छन्। प्रतिगमनकारी, पुनःउत्थानवादी, के–के हुन् त्यस्ता छन्। उसका के नीति, के कार्यक्रम हुन्छन् थाहा छैन। झ्याप्पै भनिहाल्नुपर्ने कुरा हुँदैन। उनीहरुले कार्यक्रम नल्याइकन पर्ख र हेरको अवस्थामा हुनेछौँ।’


