दमौली – तनहुँमा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ। मौसमले साथ दिएको र किसानले मलजल, पानीको व्यवस्था तथा गोडमेलमा ध्यान दिएकाले यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो।
कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार यसवर्ष रु २८ करोड बराबरको सुन्तला उत्पादन भएको छ। एक हजार चार सय ८० हेक्टरबाट नौ हजार पाँच सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको तिवारीले बताए।
जिल्लामा उत्पादित सुन्तला काठमाडौँ, पोखरा, नारायणगढलगायतका ठाउँमा बिक्री हुने गरेको छ। यसका साथै जिल्लाकै दमौली, दुलेगौँडा, खैरेनीटार, भीमाद लगायतका ठाउँमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन्।
सुन्तला खरिदका लागि ठेकेदार सुन्तला बगानमै पुग्ने गरेका छन्। जिल्लाको म्याग्दे गाउँपालिका–२ र ३ स्थित उमाचोकमा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ। व्यास नगरपालिका–११ तनहुँसुर, वडा नं १३ को बेनीकोट, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–२ पतेनी, शुक्लागण्डकी नगरपालिका–११ राइपुर, भीमाद नगरपालिका–९ भानुमतिलगायतका ठाउँमा व्यावसायिक रुपमा सुन्तला उत्पादन हुँदै आएको छ।
म्याग्दे–२ उमाचोकका सुकनारायण श्रेष्ठ, विश्वबहादुर अधिकारी, निर्मल अधिकारी, रामबहादुर अधिकारीलगायतले वार्षिक लाखौँ मूल्य बराबरका सुन्तला बिक्री गर्दै आएका छन्। देवघाटा–३ छिपछिपेका भीम रानाले यसवर्ष रु ३२ लाख बराबरको सुन्तला बिक्री गरेका छन्। व्यास–१३ बेनीकोटका विकास थापाले यसवर्ष रु आठ लाखको सुन्तला बिक्री गरेका छन्।
आँबुखैरेनी–२ मार्कीचोकका सोलबहादुर चितौरेले यसवर्ष रु तीन लाख ५० हजार बराबरको सुन्तला बिक्री गरेका छन्। -रासस


