मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कमा रहेको हेटौँडा डान्सबारमा रक्सी खाएर केही युवाले चक्कु प्रहार गर्दा होटलका सञ्चालकसहित तीन जना घाइते भएका छन् ।
बसपार्क नजिकै अस्थायी प्रहरी पोस्टमा प्रहरी बस्छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर पनि नजिकै छ । रातको समयमा होटलका सञ्चालक र कामदारमाथि चक्कु प्रहार भएको स्थानीयवासीले बताएका छन् ।
चक्कु प्रहारबाट डान्सबार सञ्चालक हेटौँडा १ बस्ने ४० वर्षीय संजय लामा घाइते भएका छन् । उनको निधारमा गहिरो चोट लागेको छ । उनको निधारमा पाँच वटा टाका लगाइएको छ ।
यसैगरी यही डान्सबारमा काम गर्ने हेटौँडा ४ बस्ने २४ वर्षीय विजयकुमार मोक्तान घाइते भएका छन् । उनको नाक र ओठमा धारिलो हतियारले काटेको देखिन्छ । उनलाई १७ वटा टाका लगाइएको छ । यस्तै यही डान्सबारमा काम गर्ने हेटौँडा–४ बस्ने २८ वर्षीय रोशन श्रेष्ठ घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।
रक्सी खाएर चक्कु प्रहार गर्ने चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। प्रहरीले चक्कु प्रहार गर्ने कार्यमा संलग्न भएको आरोपमा बसपार्क बस्ने ३७ वर्षीय विक्रम श्रेष्ठ, आनन्द टोल बस्ने ४१ वर्षीय विष्णुलाल योन्जन, ३१ वर्षीय निमा योन्जन र हेटौँडा १ बस्ने ४० वर्षीय सुरेश महर्जनलाई पक्राउ गरेको हो ।
उनीहरूले रक्सी खाइसकेपछि बिल तिर्ने क्रममा झगडा भइ कुटपिट गर्दा सञ्चालक र कर्मचारी घाइते भएका हुन् । प्रहरीले उनीहरूको साथबाट एक थान चक्कुसमेत बरामद गरेको छ ।


