झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस अब सङ्ठन निर्माणमा केन्द्रित हुने बताएका छन्।
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज बिपी प्रतिष्ठानद्वारा चन्द्रगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस अब पाँच वर्षपछि सरकार बनाउने गरी सङ्गठन निर्माण र बिस्तारमा लाग्ने बताए।
सत्ता समीकरणको फेरबदललाई अनपेक्षित घटनाको संज्ञा दिँदै उनले जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई पनि अपदस्थ गरिएको इतिहास रहेको बताए। ‘बहुदलीय व्यवस्था नै विघटन गर्दा पनि जीवित रहेको नेपाली कांग्रेस सत्ताबाट बाहिरिँदैमा आत्तिन्न,’ उनले भने।
चुनावअघिको कांग्रेस नेतृत्वको समीकरण चुनावपछि भत्किएको विषयमा पार्टीभित्र निर्मम र गम्भीर समीक्षा हुने उनले कार्यकर्तालाई आश्वस्त पारे। बिपीको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै महामन्त्री शर्माले अबका दिनमा पार्टी एकजुट भइ अघि बढ्ने बताए। -रासस


