म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले बजार क्षेत्रमा रहेका अव्यवस्थित संरचना हटाउन सुरु गरेको छ । शुक्रबार नगर प्रमुख सुरत केसीसहितको टोलीले बेनी नगरपालिका ८ कालिपुल बसपार्कस्थित अव्यवस्थित संरचनालाई डोजर लगाएर खाली गराएको हो ।
कालिपुलमा वसपार्कलाई व्यवस्थित बनाउन भौतिक संरचना निर्माण भइरहेको अवस्थामा अव्यवस्थित रुपमा रहेका घर टहराका कारण निर्माण कार्यमा व्यवधान भएकाले ती संरचनामा डोजर लगाएर खाली गरिएको नगरप्रमुख केसीले बताउनुभयो ।
बेनी नगरपालिका आफैले वसपार्क क्षेत्रमा खाली जमिन भाडामा दिएर टहरा हालिएको र अहिले ती टहराका कारण वसपार्क अव्यवस्थित भएको जनाएको छ । धौलागिरि गण्डकी बागलुङ भगवतिको टिकट काउन्टरमा डोजर लगाएर भत्काइएको छ । पर्यटक सूचना केन्द्र र ट्राफिक प्रहरी कार्यालयले भवनभन्दा बाहिर अतिक्रमण गरेर बनाएको संरचनामा डोजर लगाएर खाली गरिएको नगरप्रमुख केसीले बताउनुभयो ।
बेनीबजारलाई व्यवस्थित बनाउन अव्यवस्थित घर टहरा हटाउने अभियान शुरु भएको छ नगरप्रमुख केसीले भन्नुभयो, ‘बजार क्षेत्रमा रहेका अव्यवस्थित रुपमा बनाइएका घर टहरा हटाउन हामीले ३५ दिने सूचना जारी गरेका छौं, समयभित्र खाली नभए नगर आफै डोजर प्रयोग गरेर खाली गराउछ ।’
पहिलो चरणमा बेनी नगरपालिकाले सडक छेउमा भाडामा दिएर आफैले गरेको अतिक्रमण हटाउन थालेको उहाँले बताउनुभयो । बेनीको विरेन्द्रचोक र नगरगेट अगाडिको पुल छेउमा रहेका संरचना खाली गराउन सूचना जारी भइसकेकाले अटेरी गरे ती संरचनामा पनि डोजर लगाएर खाली गराउने उहाँले बताउनुभयो ।
वसपार्कमै रहेको एक होटल सञ्चालकलाई सात दिनभित्र हटाउन निर्देशन दिएको नगरप्रमुख केसीले बताउनुभयो । सात दिनभित्र होटल सञ्चालकले खाली नगरेमा नगरले डोजर लगाएर भत्काउने वडा नम्बर ८ का अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।
ठाकुरप्रसाद आचार्य गाेरखापत्र


