असोजको पहिलो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको भ्रमण गर्ने तय भएको छ । तर, प्रचण्ड नेपालबाट नभई अमेरिकाबाट सिधै चीन भ्रमणमा जाने भएका छन् । न्यूयोर्कमा राष्ट्रसंघीय महासभालाई सम्बोधन गरेपछि सोझै एशियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड चीनको हाङजाओ सहरमा पुग्नेछन् । पाँच वर्षको अन्तरालमा हुन लागेको नेपाली प्रधानमन्त्रीको चीन भ्रमणलाई महत्वका साथ हेरिएको छ । विश्व अर्थतन्त्रको गणनामा विशेष स्थान हासिल गरिरहेका नेपालको उत्तर र दक्षिणका दुई छिमेकी मुलुकमा नेपालका प्रधानमन्त्री जाँदा चासो र चर्चा हुनु स्वभाविकै हो । तर, अमेरिकाबाट सिधै चीन भ्रमणमा पुग्नुले भने चीन पक्ष केही सशंकित हुने निश्चित छ ।
पछिल्लो समय अमेरिका र चीन विश्वको शक्तिशाली देशको प्रतिस्पर्धामा छन् । अमेरिकालाई पछि पारेर चीन विश्वको महाशक्ति बन्ने होडमा छ । त्यही अनुसार उसले दक्षिण अमेरिका, अफ्रिका, मध्यपूर्व एसियाका देशहरुमा आफ्नो भूमिका बढाइरहेको छ । विश्व संगठनहरुमा पनि जी–२० लाई छाडेर ब्रिक्स जस्ता आफ्नो दबदबा भएको संगठनलाई महत्व दिइरहेको छ । अर्कोतर्फ अमेरिका भने चीनलाई रोकेर आफू शक्तिशाली कायम राख्न प्रयास गरिरहेको छ । यसका लागि उसले चीनलाई घेर्ने र अन्य आर्थिक समस्यामा पार्ने प्रयास गरिरहेको छ । चीनका छिमेकी देश तथा स्थानहरु जापान, दक्षिण कोरिया, ताइवान लगायतमा आफ्नै सैन्य बल र भूमिका बढाइरहेको छ । त्यसै योजनामुताबिक पछिल्लो समय अमेरिकाले नेपालमा पनि भूमिका बढाउन प्रयास गरिरहेको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोग त्यही एउटा योजनाको हिस्सा हो भन्ने विश्लेषण गरिएको छ ।
पछिल्लो समय एमसीसीलाई नेपालले स्वीकार्दा चीनले आपत्ति जनाएको थियो । यसको अर्थ, अमेरिका नेपाललाई आफ्नो स्वार्थअनुसार प्रयोग गर्न चाहिरहेको स्पष्ट हुन्छ । अर्कोतर्फ रुस–युक्रेन युद्धमा चीन रुसतर्फ ढल्किएको छ भने अमेरिका र अन्य पश्चिमा देशले रुसको विरोध र युक्रेनको समर्थन गरेका छन् । विश्व नै दुई ध्रुवमा विभाजित हुने यो युद्धको विषयमा नेपालले भने युक्रेनको समर्थन लिएको छ । यिनी कारणले गर्दा अहिले प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सिधै चीन भ्रमणमा जाँदा चिनियाँ पक्ष थप सशंकित हुने कूटनीतिज्ञहरुको विश्लेषण छ । यसलाई सरकारले मनन गर्न आवश्यक छ । चीन नेपालको छिमेकी मात्र नभई नेपालको विकासका धेरै क्षेत्रसँग जोडिएको छ । नेपाल–चीन आर्थिक, सांस्कृतिक एवं ऐतिहासिक सम्बन्ध अहिले झन महत्वका साथ अघि बढेको छ । त्यसैले प्रचण्डको यो भ्रमण आशंकाभन्दा विश्वास र सहकार्य बढाउनेतर्फ उन्मुख हुन जरुरी छ । नेपालको विकासका लागि चीनले गर्दै आएको सहयोग र पूर्वाधार निर्माणका कुरा स्पष्टता, बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाको कार्यान्वयन र पारवहनका विषयमा यसअघि भएका सहमति कार्यान्वयन हुन आवश्यक छ । नेपालको भूभागबारे पनि प्रधानमन्त्री प्रचण्डले चीनसँग स्पष्ट कुरा राख्न जरुरी छ । जनधारणा साप्ताहिक


