बर्दिया । बर्दियासँग जाेडिएको नेपाल-भारत सीमाबाट फेरि एउटा सीमा स्तम्भ हराएको छ । गत साउन २८ मा बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका-१० बाट ६७१/७ नम्बरको सीमा स्तम्भ बगाएको हो । नेपाल-भारत सीमा छुट्याउने स्तम्भहरु एक दशकयता बर्दिया क्षेत्रबाट मात्रै ३५ वटा बबई र कर्णाली नदीले बगाएका छन् ।
बर्दियामा नेपाल-भारत सीमा करिब ८३ किलोमिटर पर्छ । हराउने स्तम्भमा मुख्य ५ सहित सहायक र सानो गरेर ७२ वटा छन् । हराएका ठूला ५, सहायक सीमा स्तम्भ ९ र सानो ५८ वटा रहेको प्रमुख जिल्ला अधिकारी नारायण रिसालले बताए । गत साउन २८ मा बबई नदीमा आएको बाढीसँगै कटानले गुलरियाको मस्जदियानजिक दशगजा कटान गर्दै ६७१/७ नम्बरको सीमा स्तम्भ बगाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए । ‘बबईले बगाएको स्तम्भ लगातार खोजी गर्दा पनि फेला परेको छैन,’ उनले भने, ‘दशगजाबाट नदी बगेकाले अनुमानित ४/५ सय मिटर अन्तर्राष्ट्रिय सीमा बगाएको अनुमान छ ।’ नदीले जग्गा कटानसँगै बग्ने धार परिवर्तन गरिरहेको छ ।
प्रजिअ रिसालका अनुसार गुलिरया-१० मा मुख्य सीमा स्तम्भ ६७१ र ६७२, गुलरिया-७ को ६८१, मधुवन नगरपालिका-३ को ६९० र राजापुर नगरपालिका-१० को ६९३ सीमा स्तम्भ हराएको छ ।
प्रशासन र सशस्त्र प्रहरी बलले निरीक्षण गर्ने बेला जिल्लासँग जोडिएको ८३ किमि लामो सीमामा ठूला-साना स्तम्भ फेला परेका छैनन् । सशस्त्र प्रहरी बलका सीमा पाेस्ट तथा बीओपी स्थापना नहुँदै हराएको अनुमान छ । डेढ दशकअघि जिल्लामा सशस्त्र प्रहरी बलको स्थापना भएको थियो । सीमा स्तम्भ हराएको जानकारी सरकारलाई गराए पनि यसबारे कुनै खोजीनिति नभएको स्थानीयले बताएका छन् ।
०७१, ०७४ र ८० को बाढीले सहायक र सानो गरी ३५ वटा स्तम्भ बगाएको छ । बर्दियासँग जोडिएको भारतीय सीमाना २ सय ४५ वटा सीमा स्तम्भ थिए । त्यसमध्ये मुख्य ४२, सहायक ६६ र साना १ सय ३६ सीमास्तम्भ छन् ।
मुख्य सीमा स्तम्भ २६ वटा मर्मत गर्नुपर्ने अवस्थामा छन् । सहायक सीमा स्तम्भ ३६ र साना मर्मत गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्तम्भ हराएका कारण दुवै मुलुकको सिमाना छुट्याउने दशगजा समेत देखिन छाडेको गुलरिया-१० का दीपक चौधरीले बताए । सरकारले सीमामा हराएको स्तम्भ खोजी गरी पुनःस्थापना गर्न जरुरी रहेको उनले जनाए ।
प्रमुख जिल्ला अधिकारी रिसालले जीपीएस लोकेसन भएकाले कब्जा भएका, खोलाले कटान गरेको जग्गा दुवै मुलुकका कार्यदलले छुट्याउने बताए । छिटै कार्यदलले सीमाना छुट्याउँदै नेपाली पक्षको जिम्मामा रहेको सीमा स्तम्भको पुनर्निर्माणको काम गर्ने उनले जनाएका छन् ।