त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन तस्करी भएको प्रकरण अहिले चर्चामा छ । विमानस्थलको भन्सार जाँचपास गरेर बाहिरिसकेको सुन राजस्व अनुसन्धान विभागले सिंनामंगलबाट बरामद गरेको थियो । भन्सारबाट सुन बाहिरिँदा पनि त्यहाँको प्रशासन र प्रहरीले थाहा नपाउनुले यसमा उनीहरुको मिलेमतो रहेको स्पष्ट त छँदै छ अर्कोतर्फ हाम्रा तमाम सरकारी निकायमा भ्रष्टाचारमा संलग्न व्यक्तिको बिगबिगी रहेको पनि छर्लंग पारेको छ । यस्तै, विमानस्थल आफ्नो कार्यक्षेत्रमा पर्ने गृह मन्त्रालय पनि यस प्रकरणमा तस्करीको सुन बरामद गर्न नसकेर आलोच्य बनेको छ । अब यस प्रकरणमा पक्राउ परेकाहरुलाई कारबाही कसरी अघि बढ्छ भन्ने विषयले गृह मन्त्रालय तथा गृहमन्त्रीको असली परीक्षा पनि हुनेछ ।
हालसम्म सुन तस्करीमा संलग्नताको आरोपमा १६ जना पक्राउ परिसकेका छन् । पछिल्लो समय गत आइतबार भन्सारका ३ कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा विमानस्थल भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल, एक्स–रे अपरेटर सरोज श्रेष्ठ गरी तीन भन्सार कर्मचारी छन् । त्यसैगरी भन्सार एजेन्टहरु सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुली पक्राउ परेका छन् । यसअघि १० जनालाई राजस्वको टोलीले पक्राउ गरिसकेको छ । सुन बरामद भएकै रात ६ जना पक्राउ परेका थिए ।
अवैध रुपमा सुन तस्करी भइरहेको भन्ने पूर्वसूचनाको आधारमा विभागले विशेष टोली नै बनाएर अपरेसन चलाएको थियो । जस क्रममा विमानस्थलको भन्सार गेटबाट बा२ज २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिइएको थियो । क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ–काठमाडौं उडानबाट ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएको थियो । सुन मोरेर ल्याइएको ब्रेक सुसहितको स्पेयर पाट्र्सहरु अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले जाँचपास गरेको थियो । जाँचपास गरेर सम्बन्धित गन्तव्यतिर लैजान लागेको अवस्थामा विभागको टोलीले भन्सारको गेटबाट ट्याक्सीलाई नियन्त्रणमा लिएर अपरेसन गरिएको थियो ।
नेपालमा सुन तस्करी लामो समयदेखिको समस्या बनिरहेको छ । विभिन्न माध्यमबाट सुन तस्करी भइरहे पनि यसको रोकथाममा भने हालसम्मका सरकारहरु असफल साबित भएका छन् । यसको मुख्य कारण हो, तस्करीमा ठूला नेता, कर्मचारी र व्यापारी तथा संगठित गिरोहको संलग्नता । नेपालमा हङकङ, दुबई, चीन, थाइल्यान्डदेखि सुन तस्करी हुने गरेको छ । हालैको क्विन्टल सुन तस्करी प्रकरणमा पनि भारतदेखि चीनसम्मका गिरोह संलग्न रहेको अनुसन्धानबाट देखिएको छ । यसरी आएको सुन भारततर्फ निकासी गर्न लागिएको अनुमान गरिएको छ । विगतमा पनि साढे ३३ किलो सुन तस्करी प्रकरणले राष्ट्रिय रुपमा चर्चा पाएको थियो । उक्त प्रकरणमा संलग्नताको आरोपमा केही नेता, कर्मचारी, व्यापारी, प्रहरी र अन्यलाई पक्राउ गरी मुद्दा पनि चलाइएको थियो । पछि भने उनीहरुलाई कम सजाय र उन्मुक्ति दिने काम गरियो । अहिले पनि सुन तस्करीमा नाम जोडिएको छ । उच्च कर्मचारी र प्रहरीकै पनि संलग्नता रहेको स्पष्ट देखिन्छ । त्यसकारण उनीहरुलाई कारबाहीको दायरामा ल्याउन सके मात्र सरकारको सफलता निर्धारण हुनेछ , आगे सरकारका सरदारहरुलाई चेतना भया ! जनधारणा साप्ताहिकबाट


