काठमाडौँ – नेकपा एमालेकी सांसद विद्या भट्टराईले बजेट खर्च गर्न नसक्ने स्थितिको अन्त्य हुन जरुरी रहेको बताएकी छन्।
बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले सरकार बजेट छैन भन्ने तर आर्थिक वर्ष सकिन लाग्दा बजेट खर्च नहुने परिपाटीको अन्त्य गर्न लाग्नुपर्ने बताएकी हुन्।
उनले बजेट खर्च गर्न नसके कारबाही भोग्न सम्बन्धित पक्षहरु तयार हुनुपर्ने बताइन्।
उनले भनिन्, ‘बजेट छैन भनिन्छ तर फिर्ता गर्छौं, यो संस्कृति कहिलेसम्म रहन्छ? त्यसका लागि चुनौती के हुन्, हामीले के सहजीकरण गर्नुपर्छ। यो संस्कृति बदल्नुपर्छ। हामी जनताका लागि, देशका लागि भन्ने तर किन जिम्मेवार बन्न नसक्ने, बजेट छैन भन्ने तर खर्च किन हुन नसक्ने? अब बजेट खर्च भएन भने त्यसको जिम्मेवारी कसले लिने, दण्डित हुने कि नहुने?’


