काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । यसअघि परीक्षणका रूपमा लागू भएको एमडीएमएसको सम्पूर्ण प्राविधिक तयारी सकिएको प्राधिकरणले जानकारी दिएको छ ।
अब एमडीएमएसमार्फत मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गरी थप व्यविस्थत गर्न चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ ब्लकिङ गर्न सकिने प्राधिकरणको भनाइ छ ।
नियमअनुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट मिति २०७९ पुस १५ देखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनका समेत रोक लगाइने हुँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू प्रज्ञापनन सहित राहदानी नागरिकता राष्ट्रिय परिचयत्रका आधारमा यो वेबसाइट गई दर्ता गर्न अनुरोध गरिएको छ ।
साथै प्राधिकरणले नेपालभित्रै मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएममा दर्ता भए/नभएको यकिन गर्न सकिने हुँदा सोही अनुसार यकिन गरेर मात्र खरिद गर्न आग्रह गरेको छ । त्यस्तै मोबाइल आयात गर्नुअघि अनिवार्य रूपमा प्राधिकरणको पूर्ण रूपमा स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न मोबाइल आयातकर्ता बिक्रेतालाई सचेत गराइएको छ ।


