काठमाडौँ – काठमाडौँ महानगरपालिकाभित्र भारतीय चलचित्रको प्रदर्शन रोक्ने मेयर बालेन शाहको कदमविरुद्ध सिनेमाघर सञ्चालक अदालत जाने तयारी गरेका छन्।
मेयर शाहले भारतीय चलचित्र ‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद रहेको भन्दै उक्त संवाद नहटाएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र सञ्चालन हुन नदिने घोषणा गरेका थिए।
मेयर शाहको उक्त घोषणापछि सोमबारदेखि काठमाडौँ महानगरसहित देशका विभिन्न स्थानमा भारतीय चलचित्रको प्रदर्शन रोकिएको छ। तर, मेयर शाहले भनेजस्तो ‘जानकी भारतकी छोरी हुन्’ भन्ने शब्द चलचित्रमा नरहेको चलचित्र हल सञ्चालकको भनाइ छ।
राज्यको नीतिको अभावमा आफूहरु पीडित भएको भन्दै हल सञ्चालकहरु बालेनको नाम नलिएरै अदालत जान लागेका हुन्। क्यूएफएक्सका सञ्चालक भाष्कर ढुङ्गाना भन्छन्, ‘हामी कानुन व्यवसायीहरूसँग छलफलमा छौँ। छलफलपछि हिन्दी सिनेमा चलाउन नदिने काठमाडौँ मनपा र मेयर बालेन्द्र शाहविरुद्ध अदालत जान्छौँ।’
यसअघि कलाकार दीपकराज गिरीले पनि सबै भारतीय चलचित्र बन्द गर्नु उचित नहुने बताएका थिए। उनले फेसबुकमा लेखेका थिए, ‘समस्या आदिपुरूषले निकालेको हो, त्यसैले आदिपुरुष मात्रै बन्द गरौँ!! उताबाट आउने सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि? उताबाट त धेरै कुरा आउँछ।’
नेपालमा चलचित्रको प्रदर्शन रोकिएपछि ‘आदिपुरुष’का निर्माताले मेयर शाहलाई पत्र लेख्दै माफी मागेका थिए। चलचित्र निर्माता कम्पनी टि–सिरिजले नेपालमा ‘आदिपुरुष’ सञ्चालनका लागि सहयोग गरिदिन मेयर शाहलाई आग्रह गरेको थियो।
मेयर शाहले भनेजस्तो चलचित्रमा संवाद नरहेको टि–सिरिजको भनाइ थियो। नेपालीलाई दुःखी तुल्याउने आफूहरुको नियत नरहेको पनि टि–सिरिजले प्रष्टीकरण दिएको थियो।


