काठमाडौं । नेकपा (एमाले)का सांसद लिलानाथ श्रेष्ठले सङ्घीय संसदअन्तर्गतका विषयगत समितिहरुको सभापति तत्काल चयन गर्न माग गर्नु भएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्नुहुँदै उहाँले सङ्घीयताका लागि अति आवश्यक ऐन, नियम, कानुन बनाउन पनि ती समितिहरुको सभापति चयन कार्य ढिलाई गर्न नहुने जनाउनु भयो ।
सांसद श्रेष्ठले समिति बनाउने काममा समेत ढिलाई भएकाले ती समितिहरुको सभापति चयन प्रक्रियामा भने ढिलाई गर्न नहुने जनाउनुभयो । सांसद श्रेष्ठले समितिका सभापतिहरुको चयन नहुँदा स्थानीय तहको विकास, निर्माणको कामलाई अघि बढाउने कानुन निर्माणको काम समेत अवरुद्ध भएको जनाउनुभयो ।
‘‘यो सरकार बनेको पाँच महिना १६ दिन भयो । मुख्य हाम्रो काम भनेको ऐन, नियम बनाउनु हो । आज समिति बन्नलाई धेरै लामो समय लाग्यो । समिति बनिसकेपनि समितिको सभापति चयन भएको छैन । जसले महत्वपूर्ण ऐन, नियम, कानुन बन्न सकेको छैन । आज हामीले राष्ट्रिय निजामती कर्मचारी ऐन बनाउन सकेको छैन ।,’’ सांसद श्रेष्ठले भन्नुभयो, ‘‘सङ्घीय संसद प्रहरी ऐन बन्न सकेको छैन । सङ्घीय निजामती शिक्षा ऐन बन्न सकेको छैन । त्यसकरणले आज स्थानीय तह निमित्तले चलाउनु परिरहेको छ । त्यसले गर्दा आज धेरै बेरुजुहरु बढेको छ । कानुन, नियम नभएको, कर्मचारी नभएकाले स्थानीय तहहरुको बेरुजु बढेको छ । त्यहाँको विकास, निर्माणमा अवरोध पुगेको छ ।’’
सांसद श्रेष्ठले कानुनहरुको निर्माण गरी सङ्घीयता कार्यान्वयनका कामहरुलाई तीव्रता दिनुपर्ने जनाउनुभयो ।


