भारतका प्रधानमन्त्रुी नरेन्द्र मोदीले पाँचवटा क्षेत्रलाई मुख्य एजेन्डा बनाई मंगलबारदेखि अमेरिका भ्रमण थाल्ने भएका छन् । दुई देशबीच स्वास्थ्य, प्रविधि, नवीकरणीय ऊर्जा, शिक्षा र रक्षा क्षेत्रमा सहकार्यलाई प्राथमिकतामा राखिएको हो ।
अमेरिका यात्रामा प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच हिन्द प्रशान्त महासागर क्षेत्रको सुरक्षा सवाल र चुनौतीको विषयमा पनि वार्ता हुने भएको छ । त्यसक्रममा दुई देशबीच सैन्य सुरक्षा सामग्री र अत्याधुनिक प्रविधिका सम्बन्धमा सम्झौता हुने सम्भावना छ । अमेरिकाका लागि भारतका राजदूत तरजनजित सिंहले मोदीको भ्रमणको पूर्वसन्ध्यामा सञ्चारमाध्यमसँगको साक्षात्कारमा दुई देशबीच हुने विभिन्न सहकार्यबारे जानकारी दिएका हुन् ।
मोदीको अमेरिका भ्रमणबाट महत्त्वपूर्ण परिणाम बाहिर आउने भारतीय विदेशमन्त्री एस जयशंकरले बताएका छन् । पत्रकारलाई प्रतिक्रिया दिँदै उनले अमेरिकामा प्रधानमन्त्री मोदीले पाउन लागेको सम्मान विश्वका थोरै नेताहरूले मात्रै प्राप्त गर्न सकेको समेत बताए । ‘एउटै व्यक्तिले अमेरिकी कांग्रेसलाई दुई पटक सम्बोधनको मौका पाउनु सम्मानको विषय हो, यस्तो अवसर विश्वभरिका थोरै मात्र नेताले पाएका छन्,’ उनले भने, ‘यो यात्राले कतिपय महत्त्वपूर्ण परिणामहरू दिनेछन् ।’ उनले त्यो परिणामहरू अहिले नै बताउन नमिल्ने उल्लेख गरेका छन् ।
अमेरिकी राष्ट्रपति बाइडेन र उनकी श्रीमती जिल बाइडेनको निमन्त्रणामा मोदी अमेरिका भ्रमण जान लागेका हुन् । त्यस क्रममा अमेरिकाले मोदीलाई राजकीय सम्मान दिने भएको छ । प्रधानमन्त्री भएको ९ वर्षमा मोदीले अमेरिकाको पहिलो राजकीय भ्रमण गर्न लागेका हुन् । जुन २१ देखि २३ तारिखसम्म उनले अमेरिका भ्रमण गर्नेछन् । भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यक्रमअनुसार मोदीको अमेरिका यात्रा न्युयोर्क सहरबाट सुरु हुनेछ । २१ जुनमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित इन्टरनेसनल योग डे कार्यक्रममा उनी सहभागी हुनेछन् । संयुक्त राष्ट्रसंघले सन् २०१४ देखि प्रत्येक वर्ष जुन २१ का दिनलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा घोषणा गरेको छ । त्यहाँबाट मोदीले वासिङटन डीसीको यात्रा गर्नेछन् । अमेरिकी राष्ट्रपति बाइडेनसँग उनको त्यसै दिन भेटवार्ता हुने कार्यक्रम छ । त्यही बेलुका बाइडेन दम्पतीले मोदीको सम्मानमा ह्वाइट हाउसमा रात्रिभोजको आयोजना गरेका छन् ।
त्यही दिन अमेरिकी कंग्रेसको संयुक्त सत्रलाई मोदीले सम्बोधन गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्रीहरूमा मोदी पहिलो प्रधानमन्त्री हुनेछन्, जसले अमेरिकी कंग्रेसमा दुई पटक सम्बोधन गर्ने मौका पाएका छन् । यसअघि ८ जुन २०१६ मा उनले अमेरिकी कंग्रेसलाई सम्बोधन गरेका थिए । भ्रमणको तेस्रो दिन मोदीले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र विदेशमन्त्री एन्टोनी ब्लिंकनसँग भेटवार्ता गर्ने तय छ । विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकामा भारतीय प्रधानमन्त्री मोदीले लिडिङ बिजनेस अर्गनाइजेसनका सीईओ, पेसागत व्यक्तिहरू तथा अन्य धेरै क्षेत्रका सरोकारवालाहरूसँग भेटवार्ता गर्नेछन् ।
अमेरिकाको भ्रमण टुंग्याएर जुन २४ मा उनी इजिप्ट प्रस्थान गर्नेछ । मोदीले पहिलो पटक इजिप्ट भ्रमण गर्न लागेका हुन् । त्यहाँ उनले राष्ट्रपति अब्दुल फतेह अल सीसीसँग भेटवार्ता र अन्य विभिन्न कार्यक्रममा सहभागी भएर जुन २५ मा फर्किनेछन् । मोदी आफ्नो ९ वर्षको कार्यकालमा ८ औं पटक अमेरिका यात्रामा जान लागेका हुन् । अमेरिकाले यसलाई राजकीय भ्रमणको दर्जा दिएपछि मोदी तथा भाजपा समर्थकहरूले यसलाई विशेष महत्त्व दिएर प्रचारप्रसार गरेका छन् । मोदीभन्दा अगाडि तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले पनि सन् २००९ नोभेम्बरमा अमेरिकाको राजकीय भ्रमण गरेका थिए । राजकीय भ्रमणमा आएका पाहुनालाई २१ तोपको सलामी र स्टेट डिनर दिएर सम्मान गरिन्छ ।
पछिल्ला वर्षमा भारतले अमेरिकासँगको सम्बन्ध बलियो बनाउँदै लगेको छ । रुसको परम्परागत मित्र भारतले हिन्द महासागर क्षेत्रमा चिनियाँ प्रभावलाई सन्तुलनमा राख्न अमेरिकासँगको मित्रतालाई प्राथमिकता दिएको देखिन्छ । अमेरिकाले पनि भारतसँगको मित्रतालाई महत्त्व दिँदै आएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिकासहित पश्चिमा मुलुकहरू युक्रेनको साथमा उभिएका मात्रै छैनन्, रुसमाथि अनेकौं प्रतिबन्धहरू लगाएका छन् । तर, भारतले भने पश्चिमाहरूको दबाबलाई सन्तुलनमा राख्दै रुससँगको आफ्नो मित्रता निर्वाह गर्दै आएको छ भने रुसबाट कच्चा इन्धन आयात अझ बढाएको छ । त्यसलाई अमेरिकाले भने मन पराएको छैन ।
अर्कोतिर, विश्व शक्ति राष्ट्र बन्ने होडमा अमेरिकालाई उछिन्ने तयारी गर्दै गरेको चीनसँग भारतको राम्रो छैन । अमेरिका र चीनबीच पनि तनाव छ । त्यसले अमेरिका र भारतलाई नजिक ल्याएको छ । तीन वर्ष अगाडि २०२० जुन १५ मा भारतको उत्तरी सीमा क्षेत्रको गलवान घाँटीमा चिनियाँ र भारतीय सैनिकबीच भिडन्त भएयता दुई देशको सम्बन्ध अझै पनि ट्र्याकमा फर्किसकेको छैन । चीनलाई सन्तुलनमा राख्न भारतले ‘क्वाड’ देशहरूको साथ लिँदै आएको छ । हिन्द प्रशान्त महासागर क्षेत्रमा चीनको दबदबालाई कम गर्न र लोकतान्त्रिक देशबीच सुरक्षा, अर्थव्यवस्था र स्वास्थ्य जस्ता कैयन् मुद्दामा क्वाडका देशहरूबीच सहकार्य छ । क्वाडमा अमेरिका, जापान, अस्ट्रेलिया र भारत सदस्य छन् ।
मोदी अमेरिका प्रस्थान गर्नुभन्दा एक साता अगाडि मात्र अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिविनले नयाँदिल्लीको यात्रा गरेका थिए । उनले प्रधानमन्त्री मोदी, विदेशमन्त्री जयशंकर र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरी यात्राको तयारीलाई अन्तिम रूप दिई फर्किएका छन् । सेमी–कन्डक्टर उद्योगमा चीनको प्रभावलाई कम गर्न अमेरिकाले भारतमा माइक्रोन टेक्नोलोजीको क्षेत्रमा लगानी गर्न सक्ने सम्भावना छ । त्यस्तै, जनरल इलेक्ट्रिक जेट इन्जिन एसेम्बलका क्षेत्रमा पनि सम्झौता हुने आस भारतले गरेको छ । सैन्य क्षेत्रमा अमेरिकी प्रविधिमा सहकार्यको सम्भावना रहेको सञ्चारमाध्यमले जनाएका छन् । ‘डिफेन्स टेक्नोलोजी’ क्षेत्रमा अमेरिकासँगको सहकार्यलाई भारतले बढी महत्त्व दिएको छ ।


