काठमाडौँ- चिनियाँ ऋण र प्राविधिक सहयोगमा निर्मित भैरहवा तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भारतीय असहयोगका कारण निष्क्रिय हुने अवस्थामा पुगेता पनि चीनले ती परियोजनामा प्राण सञ्चार गर्ने प्रतिबद्धता जनाएको छ।
सिचुवान एयरलाइन्सले आगामी जुन २१ देखि नियमितरूपमा चेङ्डु-पोखरा दुईतर्फी व्यापारिक उडान सुरु गरी पोखरा अन्तर्राष्ट्रिय विमानलाई नियमित सञ्चालनमा ल्याउने भएको हो।
उक्त उद्घाटन उडानमा चेङडुवाट राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना र उनीसँग हाल चिनको भ्रमणमा संसदीय टोलीले यात्रा गर्ने भएको छ। उक्त विमानमा केही चिनिया पत्रकारसँगै चिनिया यात्रुहरू पनि रहने छन्।
हालै भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भैरहवा तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालनमा ल्याउन भारतसँग थप वायुमार्ग माग गरेतापनि भारतले त्यसलाई स्वीकार नगरेपछि करिब ६० अर्ब रुपैयाँ लगानी अनुत्पादक बन्ने देखिएपछि चीन उद्दारमा अघि सरेको हो।
बुद्ध एअरलाइन्सले पोखराबाट विभिन्न भारतीय सहरहरूमा उडान सुरु गर्ने चाहना राखे पनि भारत त्यसमा सकारात्मक नरहेपछि त्यो योजना पनि हाल त्यही रोकिएको पर्यटन मन्त्रालय स्रोतले जनाएकाे छ।


