–लोकनारायणा सुबेदी
बिश्वमा जहाँ पनि कृषि कर्म मानब जीबनको बिकल्परहीत आधारभूत कर्म हो । जीवन धान्न, स्वस्थ राख्न र चलायमान गराउनका लागि अक्सिजन र पानी पछि खाद्य पदार्थ नै नभइ नहुनेअति आवश्यक पदार्थमा पर्दछ । खाने कुरा वास्तवमा कुनै कारखानामा बन्ने कुरा पनि होइन । यो कृषि बाहेक अन्य कतैबाट प्राप्त हुँदैन । कृषिले दिने ऊर्जाले नै मानिस लगायत प्राय अधिकांश जीव जगत जीवित छ र जीबात्माहरुको जीवन चलेको छ र गुजारा भएको छ । तर यसलाई हामीकहाँ सामान्य, गाउँले गवार किसानहरुको उपेक्षित र तिरष्कृत कर्म जस्तै मात्र मानिएको छ र ब्यवहार गरिएको छ ।फलतः यसले पाउनु पर्ने, प्राथमिक स्थान, सम्मान र शतत सहयोग पाउनबाट यो कर्म प्रायः बञ्चित जस्तै छ । कतै पाएको छ भने पनि त्यो पनि ब्यापारिक र नाफाको एउटा बजारमुखी दृष्टिकोणले मात्र पाएको छ । स्वयं कृषि र किसानको समग्र हित हुने गरेर कतै पाएको छैन । यस सम्बन्धमा शब्दावली पदावलीहरु जे सुकै प्रयोग गरिएका किन न हुन् ती किसानबाट अलग्गिएका बजारसँग जोडिएका र मुनाफाका साधन बन्ने गरी बनाएका जस्ता लाग्दछन् । प्रकृतिपछिको यो मानब निर्मित अर्थात श्रमजीवी किसानहरुले निर्माण गरेको यो — दोश्रो प्रकृति — खाद्यान्न, पक्वान्न, मिष्टान्न — अन्न, सागपात, फलफूल, दूध, माछा, मासु जुन रुपमा भए पनि ती प्रचीन, आधुनिक या अत्याधुनिक कल कारखानाका उपज बिल्कुलै होइनन् । ती दोश्रो प्रकृति – प्रकृतिका अधिशासित नियमहरुको नियमित अनुपालन गरेर गरिने प्रकृतिसँग जोडिएको जीबन्त कृषि कर्म हुन । मानब जीवनको जीवन्त आधार यो कृषि कर्मको अभावमा अरु जतिसुकै अत्याधुनिक धेरै नाफा कमाउने बिशालकाया उद्योगधन्धाहरु नै किन नहुन् तिनको कतै केही चल्दैन, हलचल बन्द हुन्छ । ती मृत प्राय बन्छन् र सकिन्छन् । त्यसैले कृषिलाई जीवनदायिनी कर्म र किसानलाई जीवनदायिनी शक्ति भनिएको र मानिएको हो । यो यथार्थ सत्य कुरा हो ।
तर किसानले आफुलाई त्यस्तो शक्ति मान्दैन, मान्न दिइएको छैन । उसले आफुलाई काम नलाग्ने धन्धा गर्न अभिशप्त गवार, गाउले, अशिक्षित रातो दिन झरी बादल, घाम खडेरी, हावा हुरीसँग खेल्ने एउटा कमजोर र छरपस्ट जमात मान्दछ । त्यस्तै मान्ने बनाइएको छ । उसले आजका सबै ‘सभ्य’ मानिने र ठानिने शहरबासी, नगरबासीहरुलाई कृषि उपजहरुको आपूर्ति गर्दछ । त्यो अकिञ्चन जमातले आफ्नो कर्म गर्न छोड्यो भने कथित सभ्यहरुको अस्तित्व नरहने कुरा उनीहरुले सोचेकै छ्रैनन्, सोचेकै हुँदैनन् । तिनमा रहेको निष्कपट उच्च मानबीयताले उनीहरुलाई त्यस्तो सोच्ने कुनै कुसँस्कार दिएकै छैन । बरु त्यसको बिपरीत ती प्रकृतिसँग खेल्ने, त्यसैमा रमाउने र अधिकांशतः अबोध प्राणीहरु नित्य निरन्तर कृषि कर्ममा लागेका हुन्छन् । प्रकृति अनुकूल भइदियो भने खुशी हुन्छन् । प्रतिकूल भइदियो भने पनि त्यसको सामना गर्न उनीहरु बाध्यछन् । रुन्छन्, कराउँदछन्, छाती पिट्छन् र फेरि सम्हालिदै प्रकृतिकै काखमा हिलो, धूलोसँग खेल्छन् । यो साल बिग्रियो अर्को साल कसो नसप्रेला भनेर आशाबादको स्वप्नमय संसारमा डुब्छन् । यो तिनको नित्य कर्म हो रहँदै आएको छ ।
हो, हाम्रो समाज पनि एक जमानामा उत्तम खेती, मध्यम ब्यापार, नीच नोकरी मान्ने प्रचलन थियो । त्यसैले समाजले त्यतिबेला कृषिलाई सर्बोपरी स्थानमा राखेको कुरा यसबाट प्रष्ट हुन्छ । तर आज त्यसको ठिक बिपरीत कृषि कर्म सबैभन्दा नीच, ब्यापार मध्यम नै र नोकरी सर्बोत्तम बन्न पुगेको छ । कृषि जस्तो आधारभूत कर्मलाई आधारभूत स्थान दिइएको त्यो जमानाको सही कुरालाई आज पनि पुनस्र्थापना गरी कृषि कर्म र किसानलाई चौतर्फीरुपमा निरन्तर सहयोग गरेर उन्नत तुल्याउन सकिएन भने मानब अस्तित्व नै ठूलो र अपूर्ब संकटमा पर्ने कुरा दिन प्रतिदिन सन्निकट हुँदै गइरहेको छ । आजको बिश्वको बढ्दो जनसंख्या र जमिनको धान्नसक्ने क्षमता(क्यारिङ्ग क्यापासिटी) र कृषिले दिने समग्र उत्पादन अपुग हुने स्थितिको आकलन गरेर नै संयुक्त राष्ट्र संघले पनि अरु धेरै खानहुने श्रोतहरु (एडिबल्स – अहिले अस्तित्वमा भइरहेका बाहेक) अरु थप झारपात,बोट बिरुवा, पशुपंक्षी समेतलाई खाद्य बस्तुमा जोड्न बाध्य बनेको देखिदैछ । यसले पनि कृषिको बिश्वब्यापी महत्व, आवश्यकता तथा बढ्दो औचित्य र ज्वलन्तरूपमा चालिनुपर्ने थप कदमलाई प्रष्ट दर्शाउँदछ ।
त्यसैले हाम्रो कृषि क्षेत्रमा सरकारी स्तरमा रहेको ब्याप्त भ्रष्टाचार र कमिशनखोरीको महाजाल तथा किसान चूसाहा प्रबृत्तिलाई समाप्त पारेर कृषि र किसानमा नयाँ आशा र बिश्वासको सञ्चार गर्न यो कृषिलाई आकर्षक तुल्याउने किसिमले अघि बढ्नु पर्ने आवश्यकता आज टड्कारो छ । यस सन्दर्भमा भूमिसँग जोडिएको असमान बितरण, स्वामित्व र भू–उपयोगको समस्या, उत्पादकत्वको समस्यालाई हल गर्नु पर्ने पहिलो सर्बोपरी आवश्यकता छ । यसैलाई बिगतदेखिनै बैज्ञानिक क्रान्तिकारी भूमिसुधार भनिदै आएको हो । यसका अतिरिक्त अर्कोतिर कृषिलाई दीगो र उत्पादनशील तुल्याइराख्न किसानलाई लाभकारी मूल्य प्राप्त हुने किसिमको सुनिश्चित बजार ब्यवस्थापन, क्षतिपूर्तिको ब्यबस्थाका साथ उन्नत र गुणस्तरीय प्रांगारिकि,जैबिक मल र सन्तुलित रासायनिक मल, बिऊ, निरन्तर दीगो सिचाईं प्रबिधिको उपाय, रोग किरा लाग्न नदिने र लागि हालेमा नियन्त्रण गर्ने जैबिक प्रबिधिको उन्नत उपाय अबलम्बन गरिनु अत्यावश्यक छ ।
अनि कृषि क्षेत्रक कृषि श्रमिक, त्यस क्षेत्रका दलित, कृषिमा काम गर्ने महिला किसान(जसको कामको गन्ति हुँदैन) का जमिन र ज्यालदारीका समस्यहरू पनि हल गरिनै पर्ने आवश्यकता छ । यसका अतिरिक्त मिटर ब्याज र लघुबित्तको किसानमारा ऋणको मारले पनि किसानहरु आक्रान्त भइरहेका र संघर्ष गरिरहेका छन् । यस माथि अझ थप उदारीकरण र नीजीकरणको माध्यमबाट साम्राज्यबादी शोषण र उत्पीडन कृषि र किसानले झेलिरहनु परेको छ । यी याबत मागलाई पैसठ्ठी बूँदामा सुत्रबद्ध गरेर यतिबेला बिभिन्न बामपन्थी ६ वटा किसान संगठनहरु राष्ट्रब्यापी संघर्षको तयारीमा छन् र कृषि र किसानको क्षेत्रमा उनीहरुमाथिको शोषण र अन्यायका बिरुद्ध बिभिन्न किसिमले कार्यरत सबैलाई समेटर राष्ट्रिय किसान आन्दोनल उठाउनु पर्ने आवश्यकता जोडदाररुपमा औंल्याइरहेका छन् । किसानको एकता नै राष्ट्रिय एकताको सबल आधार हो र हुनुपर्दछ भन्ने कुरा उठाइरहेका छन् ।
यी सबै कार्यका अतिरिक्त जल–ऊर्जा शक्ति अर्थात् जल बिद्यूत वास्तबमा किसानको प्राथमिकतामा पर्नु पर्दछ र कृषि, बन बतारणलाई जोगाउन बिद्यूतको भरपूर र सार्थक उपयोग गर्ने गरी मूलतः आन्तरिक खपतका लागि जल बिद्यूत उत्पादन कृषिसँगै जोडिएको अर्को महत्वर्ण र आधारभूत राष्ट्रिय कदम हो र हुनु पर्दछ ।अन्यथा हामी मौसम अनुकूल हुँदा धानबाली लगायत बालीनाली सप्रिने, राष्ट्रिय आम्दानी (जीडीपी) बढ्ने, अर्थतन्त्र सामान्य सुध्रिने र अनुकूल नहुँदा ती सबै कुरा बिग्रने या गुम्ने स्थितिभन्दा माथि उठ्न कदापि सक्ने छैनौं । अनि आजसम्मको कृषिप्रति गर्ने गरिएको अपहेलना र तिरष्कारकै निरन्तरता बाहेक थप अरु केही पनि हुने छैन । त्यसैले आज किसान बर्ग नै कृषिको चौतर्फी समुन्नति, प्रगति र आमूल परिबर्तनको लागि पहिल्यै कहिल्यैभन्दा जगरुप, संगठित र संघर्षशील हुनुको कुनै बिकल्प छैन ।
बास्तवमा कृषि र किसान सामन्तबाद र साम्राज्यबादबाट मुक्त नभइ सही अर्थमा कृषि र किसानको चौतर्फी समुन्नति हुन सक्ने बातावरण नबन्ने मात्रै होइन, राष्ट्रियता, जनतन्त्र र जनजीबिकाका समस्याहरू पनि सही अर्थमा समाधान भएर जान सक्तैनन् । त्यसैले नै किसान बर्गका बिभिन्न तह र तप्का नयाँ जनबादी क्रान्तिका मेरूदण्ड हुन् भन्ने महत्वपूर्ण बिश्लेषण गरिएको र निष्कर्श निकािलएका हो र यो शक्तिलाई राष्ट्रियता, जनतन्त्र र जन जीबिकाको महत्वपूर्ण आन्दोलनको सम्वाहक र पहरेदारकोरुपमा लिएर अघि बढ्नु पर्दछ भन्ने मान्यता बिकसित गरिएको हो । बस्तुतः किसान र कृषिलाई बचाऔं देश बचाऔं, राष्ट्रियतालाई सुदृढीकरण गरौ भन्नुको तात्पर्य पनि यही नै हो । कोभिड–१९ महामारीले कृषिमा ध्यान केन्द्रित गर्न बिश्वब्यापीरुपमा नै गम्भीर ध्यानाकर्षण गरिरहेको बिश्वको पछिल्लो सन्दर्भमा यी कुराहरुलाई जीवन्त र गहनरुपमा मनन गर्न सकियो र सिकियो भने मात्र मुलुकलाई सही दिशामा अग्रसर तुल्याउन अग्रसर हुन सकिन्छ । देशलारुलाई आत्मनिर्भर र परनिर्भरताको पासोबाट मुक्त बनाउन सकिन्छ । अन्यथा देश र जनताको अस्तित्वकै भयाबह संकट उत्पन्न हुने कुरा निश्चित छ । यसर्थ यो असमान्य अबस्था सिर्जना हुन नपाओस् भन्ने कुरामा गम्भीर ध्यान पुर्याउन राज्य लगायत सबै सरोकारवालाहरूसँग बिशेष अनुरोध छ ।अन्यथा समय भिड्किएपछि टाउकोमा हात लगाएर खुइय्य गर्नु बाहेक अरु केही हात लाग्ने छैन । समय र अनुभवले सिकाएको पाठको सार्थक अनुसरण गर्नु सर्बथा उचित हुन्छ ।


