मोरङ – कोशी प्रदेशकी पूर्व प्रदेश सभासदस्य एवं एमाले नेत्री गुलेफुन खातुन एक वर्षका लागि कारागार चलान भएकी छन्।
शुक्रबार दिउँसो जिल्ला अदालत मोरङमा हाजिर भएकी खातुनलाई कारागार चलान गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।
सरकारी सहीछाप नक्कली गरेको मद्धामा दोषी ठहर भएपछि उनी कारागार चलान भएकी हुन्। सो मुद्धामा जिल्ला अदालत मोरङले एकवर्षको कारागार सजायको फैसला गरेको थियो। यद्धपी, अदालतको फैसलाविरुद्ध खातुनले उच्च अदालत विराटनगरमा सुनुवाईका लागि निवेदन दायर गरेकी थिइन्। तर उच्चले समेत मोरङ अदालतकै कैद फैसला निर्णय सदर गरेपछि शुक्रबार हाजिर हुन खातुन जिल्ला अदालत मोरङ पुगेकी थिइन्।
सरकारी सहिछाप किर्ते मुद्दामा २०७४ बैशाख ३१ गते तत्कालिन जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले प्रदेश सभासदस्य खातुनसहित उनका श्रीमान शेख शिलबर मियाँ, तत्कालीन गाबिसका कर्मचारी बिजय कामत र दिपचन्द मण्डललाई १ वर्ष कैद र ५० रुपैयाँ जरिवाना फैसला गरेको थियो।
यसक्रममा कामत र मण्डललाई अड्डाका कर्मचारी भएका कारण दुई वर्ष सजायको फैसला भएको थियो।
जिल्लाको फैसलाविरुद्ध उनीहरु उच्च अदालत विराटनगरमा निवेदन दायर गर्न पुगेका थिए। उच्च अदालत विराटनगरले २०७४ पुस ९ गते खातुनसहित कर्मचारी कामत र मण्डललाई जिल्लाको कैद सजाय यथावत राख्दै प्रति ब्यक्ति १४ हजार ५ सयरुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
खातुनले हालको कटहरी गाउँपालिकास्थित मधुसूदन राज पाण्डेको ३ विगाह १० कट्ठा मोही जग्गा हत्याउनका लागि २०७१ चैत ४ गते तत्कालिन कदमाह गाउँ विकास समितिका सचिवको सिफारिस ल्याएकी थिइन्। एउटै दर्ता नम्बरका दुई वटा सिफारिस लिएका कारण किर्ते मुद्दा परेको थियो।


