मोरङ – लागुऔषध तस्करी र प्रयोगको अवस्था कोशी प्रदेशमा दिनानुदिन बढ्दै गएको छ। कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला लागुऔषधको दुर्व्यसनका कारण विभिन्न अपराध बढ्दै गएको बताउँछन्।
उनका अनुसार लागुऔषधकै कारण समाज र परिवारमा प्रत्यक्षरुपमा नकारात्मक असर परिरहेको छ। अधिकांशलाई लागूपदार्थ दुर्व्यवसनी गलत भएको जानकारी हुदाँहुँदै पनि फँस्ने क्रम बढ्दै गएको उनको भनाइ छ।
लागुऔषध तस्करीदेखि प्रयोगमा संलग्नहरु पक्राउ पर्ने क्रममा प्रदेशमा बढ्दो छ। लागुऔषधको ओसारपसार, कारोबार र सेवनमा विशेष गरेर युवापुस्ताको संलग्नता बढी पाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरको भनाइ छ। जसमा ४० वर्षमुनिका व्यक्तिको संलग्नता धेरै रहेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार गतवर्ष चैत्र १४ गते मोरङस्थित रंगेली नगरपालिकाको दुई वटा वडाबाट २ सय ३४ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको थियो। भारततिर लैजाँदै गर्दा प्रहरीले गाँजासँगै ओसारपसारमा संलग्न ४ जना भारतीय नागरिकसहित ५ जनालाई पक्राउ गरेको थियो। उनीहरुविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाएको छ।
त्यसैगरि, गत माघ अन्तिम साता सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट ३१ ग्राम खैरो हेरोइनसहित ७ जनालाई प्रहरीले गरेको थियो। संघीय प्रहरी इकाई कार्यालय र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले ७ जनालाई पक्राउ गरेको हो। प्रदेशको पूर्वी जिल्ला झापाको मेचीनगर नगरपालिकास्थित मेचीपुल क्षेत्रबाट प्रहरीले ११ ग्राम अफिमसहित २ जना भारतीय नागरिक पक्राउ गरेको थियो।
मंसिर २० गते पक्राउ परेको दुवैजनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको टोलीले पक्राउ गरेको हो।
प्रहरीले गतवर्ष वैशाखदेखि चैतसम्ममा प्रदेशका विभिन्न स्थानमा १ हजार ७ सय ५८ रोपनी क्षेत्रफलमा उत्पादन गरिएको ६ लाख ७५ हजार ६७ वटा गाँजाको विरुवा नष्ट गरेको छ। त्यसैगरि, अवैध रुपमा ओसार–पसार भइरहेको ४ हजार ५ सय २० किलो गाँजासमेत प्रहरीले बरामद गरेको छ।
लागुऔषध प्रयोग बढ्दै गर्दा प्रहरीले गएको एक वर्षमा करिब १ किलो ८ सय ग्राम खैरो हेरोइन, २८ ग्राम अफिम, र २ ग्राम ४ सय १३ मिलि ग्राम चरेस बरामद गरेको छ। प्रहरीका अनुसार ३० हजार ५ सय ९४ क्याप्सुल मनोदीपक चक्की, १२ हजार ९१ मनोदीपक सुइ र ३ सय ५७ बोतल झोलजन्य लागुऔषध बरामद गरिएको छ।
लामो समयदेखि लागुऔषध नियन्त्रण अभियानमा सक्रिय रहँदै आएका सञ्जीव चापागाँईका अनुसार पारिवारिक र सामाजिक दूरीका कारण दुर्व्यसनीको समस्या बढ्दै गएको छ।
उनी भन्छन्, ‘प्रहरीको आँकडा हेर्दा मात्रै भयावह अवस्था देखिन्छ। बरामद नभएका कति होलान् सोचौँ न। यहाँ त पछिल्लो समय समाजका राम्रै हुनेखाने व्यक्तिसमेत गाँजामा देखिएका छन्। गाँजालाई वैधानिकता दिनुपर्ने आवाज उनीहरुबाटसमेत आएको छ।’
प्रहरीले लागुऔषधलाई अपराधका रुपमा मात्र हेर्ने गरेको बताएका चापागाईं तस्करी र प्रयोगकर्ताको स्वास्थ्यलाई समेत जोडेर हेरिनुपर्ने बताउँछन्।
उनले भने, ‘लागुऔषध प्रयोगकर्ताले प्रयोग गर्ने सुइको अवस्था, रहनसहन, खानपानले स्वास्थ्यमा समेत असर पुर्याइरहेको हुन्छ। हिरासतमा कोचेर राख्ने अवस्थाले समस्या उत्पन्न गराइरहेको हुन्छ। तर त्यसप्रति प्रहरीले सोच्न सकेको छैन।’
प्रहरीले लागुऔषध नियन्त्रणका लागि प्रदेशमा विशेष कार्ययोजना बनाएर अभियान चलाउँदै आएको छ। उनका अनुसार लागुपदार्थ ओसारपसार तथा कारोबारमा संलग्नलाई कानुनअनुसार कारबाही र सेवनकर्तालाई मनोपरामर्शमार्फत दुर्व्यसनमुक्त गराउने अभियानको उद्देश्य छ।
प्रहरीले २०७९ वैशाखदेखि चैतसम्म प्रदेशमा १ सय ५७ वटा मनोसामाजिक परामर्श कक्ष र १ सय १० वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा दुर्व्यसनमा फसेका ५ हजारभन्दा बढी व्यक्तिलाई लागुऔषध र त्यसको असरका बारेमा परामर्श दिइएको कार्यालयले जनाएको छ।
त्यसैगरि, शैक्षिक संस्थालाई लक्षित गर्दै प्रहरीले यस अवधिमा ५८ वटा विभिन्न प्रकारका कार्यक्रम गरेको छ। जसमा ५ हजार ३ सय बढी विद्यार्थी सहभागी रहेका थिए। पछिल्लो एक वर्षमा प्रदेशभित्र लागुऔषधसँग सम्बन्धित ८ सय ५ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। जसमा १ हजार १ सय ७३ जनालाई प्रतिवादी बनाइएको छ।


