सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले जिल्लामै पहिलो पटक जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु गरेको छ ।
चन्द्रनगर गाउँपालिका–४ स्थित गढ टोलाबाट जिल्लामै पहिलो पटक जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु गरिएको पालिका अध्यक्ष राजकुमार महतोले जानकारी गराए । वडा नं ४ को दलित बस्तीका ४५ जनालाई जग्गा धनी पुर्जा (लालपुर्जा) वितरण गरेर अभियान सुरुआत गरिएको नापी कार्यालयका प्रमुख सञ्जय मनान्धरले जनाए ।
उनका अनुसार पुस्तौँ पुस्तादेखि जोतभोग गरिरहेको गाउँ ब्लक जग्गाको लालपुर्जा सम्बन्धित व्यक्तिहरूलाई प्रदान गरिएको छ । ‘पुस्तौँ देखि जोतभोग गरिरहेको जमिनको पहिलो पटक जग्गा धनी पुर्जा प्राप्त हुँदा आफूलाई निकै खुसी लागेको छ ।’ स्थानीयवासी नागेन्द्र महराले भने, ‘आफ्नो पिता पुर्खादेखि लालपुर्जा नहुँदा धेरै दुःख पाइया थियो । बल्ल अहिले आफूले जोत भोग गरेको जमिनको जग्गाधनी पुर्जा प्राप्त भयो ।’
वर्षौँ वर्षदेखि आफूहरू जग्गा भएर पनि जग्गाविहीन भएर बस्न बाध्य भएकोमा अहिले धनी पुर्जा प्राप्त हुँदा खुसी लागेको अर्की स्थानीयवासी संझादेवी माझीले जनाइन् ।


