काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालका लागि अमेरिकाका राजदूत डीन आर टमसनबीच भेटवार्ता भएको छ ।
आइतवार श्रम मन्त्रालयमा भएको भेटवार्तामा वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउने सहितका विषयमा छलफल भएको थियो ।
रोजगारीका क्षेत्रमा देखा परेका विविध खालका समस्या, चुनौती, ठगीलगायतका विषयहरूलाई न्यूनीकरण गर्नेबारे छलफल भएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।
भेटवार्तामा वैदेशिक रोजगारीका क्रममा देखा पर्ने मानव तस्करी लगायतका समस्याहरू समाधान गर्नका लागि नेपालले चाल्ने हरेक पहलकदमीमा अमेरिकी सरकारको सहयोग रहने राजदूतले टमसनले बताएका थिए । त्यसैगरी वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकहरूले प्रदर्शन गरेको अनुशासन एवं इमान्दारिताको समेत अमेरिकी राजदूतले उच्च प्रशंसा गरेका थिए ।


