पोखरा – तनहुँ–१ को उपनिर्वाचनमा ५२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले ५२ प्रतिशत मत खसेको बताए।
यो क्षेत्रमा १ लाख २३ हजार ३०५ मतदाता रहेका थिए। मंसिर ४ भएको निर्वाचनमा यो क्षेत्रमा ५४.२ प्रतिशत मत खसेको थियो। त्यतिबेला अहिलेको भन्दा १८५ मतदाता बढी थिए।
तनहुँ १ मा व्यास नगरपालिकाको ५ र ६ बाहेकका १२ वटा वडा, भानु नगरपालिका, आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिकाका मतदाताले मतदानमा गरिरहेका छन्। यो क्षेत्रमा ४२ वडा पर्छ।
१५२ केन्द्रमा शान्तिपूर्ण तवरले मतदान सम्पन्न भएको ढकालले बताए। मतदान सम्पन्न भएर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउन सुरु भएको छ। ‘नजिकका केन्द्रबाट मतपेटिका आउन सुरु भइसक्यो’, उनले भने।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाका लागि दुई वटा कोठामा तारजाली र सिसी क्यामेरा जडान गरिएको छ।


