पोखरा – तनहुँ १ मा भएको उपनिर्वाचनमा एक सय बढी मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइपुर्याइएको छ। मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले भने, ‘एक सय प्लस आइसकेको छ। अरु बुझ्ने क्रममा छौँ।’ १५२ केन्द्रमा मतदान भएको हो।
राति १० बजेसम्म सबै मतपेटिका आइपुग्ने उनले जानकारी दिए। ‘देवघाटतिरका केही केन्द्रहरु अलिक टाढा छन्। १० बजेसम्म त्यहाँबाट पनि आइपुग्छन् कि भन्ने अनुमान छ’, उनले भने।
सबै केन्द्रबाट मतपेटिका आएपछि गणना सुरु हुने उनले बताए। ‘सबै केन्द्रबाट मतपेटिका आएपछि सर्वदलीय छलफल हुन्छ। उहाँहरुले रातिबाटै सुरु गरौँ भन्नु भो भने रातिबाटै सुरु हुन पनि सक्छ’, उनको भनाइ छ। १० बजेभित्र सबै मतपेटिका संकलन भएको खण्डमा दलहरु पनि मतगणनाका लागि तयार छन्।
जिल्ला समन्वय समिति तनहुँमा मतगणना हुनेछ। दुई स्थानमा मतगणना हुनेछ। मतगणनाका लागि तारजाली र सिसी क्यामेरा जडान गरिएको छ। दुई दिनभित्र अन्तिम परिणाम आउने मुख्य निर्वाचन अधिकृत आचार्यले बताए।
तनहुँ–१ मा ५२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ। यो क्षेत्रमा १ लाख २३ हजार ३०५ मतदाता रहेका थिए। मंसिर ४ भएको निर्वाचनमा यो क्षेत्रमा ५४.२ प्रतिशत मत खसेको थियो। त्यतिबेला अहिलेको भन्दा १८५ मतदाता बढी थिए।
तनहुँ १ मा व्यास नगरपालिकाको ५ र ६ बाहेकका १२ वटा वडा, भानु नगरपालिका, आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिकाका मतदाताले मतदान गरे। यो क्षेत्रमा ४२ वडा पर्छन्।
मंसिरमा भएको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका थिए। उनी राष्ट्रपति बनेर रिक्त भएपछि उपनिर्वाचन भएको हो।
उपनिर्वाचनको मैदानमा ९ जना उम्मेदवार छन्। सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले मुख्य प्रतिस्पर्धी हुन्।
नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी समाजवादीका गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङ, र नागरिक उन्मुक्ति पार्टीबाट भिमबहादुर सुनार पनि प्रतिस्पर्धामा छन्।
हाम्रो नेपाली पार्टी (लौरो अभियान) उम्मेदवार विष्णु पराजुलीले उम्मेदवारी निष्क्रिय पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेलाई समर्थन गरेका छन्।


