काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि सरकारले निर्मम दमन गरेको आरोप लगाउँदै त्यसको प्रतिरोधका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन्।
राष्ट्रिय भेलाको उद्घाटन मन्तव्यका क्रममा ओलीले सरकारले एमालेमाथि फेरि पनि हमला गर्न सक्ने भन्दै त्यसको प्रतिरोध गरिने चेतावनी दिए।
‘सरकारले एमालेमाथि निर्मम हमला गरेको छ। अब सरकारले फेरि हमला गर्न सक्छ। त्यसको प्रतिरोध हुनेछ। त्यसको मूल्य महँगो पर्न सक्छ,’ ओलीले भने। आफू गिरफ्तार हुँदा सयौँ कार्यकर्तामाथि निर्मम ढंगले कुटपिट गरिएको उल्लेख गर्दै उनले आगामी प्रतिरोधमा ठूलो सङ्ख्यामा कार्यकर्ता सडकमा उत्रिनुपर्ने बताए। ‘पहिले गिरफ्तार हुँदा सङ्ख्यामा केही कमी भयो होला।
अबको प्रतिरोध लाखका लाख विरोधमा उत्रिनुपर्छ। सबै तयार हुनु। यो सरकारले कुन बेला के गर्छ, भर छैन,’ ओलीले भने। उनले सरकारको कदमको प्रतिवाद गर्न पार्टीका अगुवा कार्यकर्तालाई तयार रहन निर्देशन दिएका हुन्।


