काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन सोमबार गाईको पूजा गरी मीठा परिकार खान दिएर गाईपूजा मनाइँदैछ।
हिन्दू धर्ममा गाईलाई पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ। गाईबाट प्राप्त हुने दूध, दही, घ्यू, गोबर र गहुँत धार्मिक तथा सांस्कृतिक कार्यमा प्रयोग हुने भएकाले गाईलाई गौमाताका रूपमा सम्मान गर्ने चलन छ। गाईको दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण पनि यसको विशेष महत्त्व रहेको छ।
धार्मिक मान्यताअनुसार आज गाईलाई स्नान गराई फूलमाला र टीका लगाएर पूजा गरिन्छ। त्यसपछि विभिन्न मीठा परिकार खान दिइन्छ। विधिपूर्वक गाईको पूजा गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।
नेपालका केही स्थान तथा समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको प्रारम्भ हुने समयमा गाईपूजा गरिन्छ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले विभिन्न धार्मिक तथा पितृकार्यमा गाईदान गर्ने परम्परासमेत छ। तर पछिल्लो समय गाईको अभावमा सङ्कल्प गरेर त्यसको सट्टा रकम राख्ने चलन बढ्दै गएको धर्मशास्त्रका जानकार प्रा. डा. रामचन्द्र गौतम बताउँछन्।
गाईलाई नेपालमा राष्ट्रिय जनावरका रूपमा समेत सम्मान गरिएको छ। धार्मिक विश्वासअनुसार साउन शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपछि वैतरणी नदी पार गर्न गाईले सहयोग गर्ने मान्यता छ।
यसै विश्वासका आधारमा हिन्दू धर्मावलम्बीले गाईलाई धार्मिक आस्था, पवित्रता र मातृत्वको प्रतीकका रूपमा पूजा गर्दै आएका छन्।


