काठमाडौं। देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागसहित लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागमा हल्का वर्षा भइरहेको छ।
सोमबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
सोमबार राति देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।


